प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली भारत भ्रमणमा गएका हुन्। नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे प्रधानमन्त्री ओली ४५ सदस्यीय टोलीको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका हुन्।
प्रधानमन्त्रीको भ्रमण दलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल लगायत छन् ।
भ्रमण दलमा संघीय संसद्का सदस्यहरु शरत्सिंह भण्डारी, दीनानाथ शर्मा, रामेश्वर राय यादव, मोतीलाल दुगड, गणेशसिंह ठगुन्ना, शान्ता चौधरी, उमा रेग्मी, रामवीर मानन्धर, सीताराम महतो र विमलप्रसाद श्रीवास्तव सहभागी छन् ।
प्रतिनिधिमण्डलमा मुख्यसचिव लोकदर्शन रेग्मी, परराष्ट्र सचिव शंकरदास बैरागी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, प्रधानमन्त्रीको निजी चिकित्सक डा दिव्यासिंह शाह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्याल, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारी, रेल विभागका महानिर्देशक अनन्त आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, शिष्टाचार महापाल दीपक अधिकारी, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महत्तो पनि त्यसतर्फ प्रस्थान गरेका छन् ।
भ्रमण दलमा पहिलो पटक कला क्षेत्रबाट नायक राजेश हमाल र चलचित्र निर्देशक दिनेश डिसी पनि सहभागि भएका छन् । यसबाहेक निजी खर्चमा उद्योगी/व्यावसायी र निजी क्षेत्रका सञ्चार माध्यमका प्रतिनिधि पनि भारत भ्रमणमा गएका छन् ।
राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र रेडियो नेपालका सञ्चारकर्मीको भ्रमण दलमा सहभागिता रहेको छ । यस्तै नेपाली दूतावास नयाँ दिल्लीबाट कार्यबाहक राजदूत भरतकुमार रेग्मी, इकोनोमिक मिनिष्टर कृष्णहरि पुस्करलगायत नौ जनाको सहभागिता रहनेछ ।
प्रधानमन्त्रीलाई प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालगायत उच्च पदस्थ सरकारी अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाई गरे।
प्रधानमन्त्री ओलीले भारतमा राष्ट्रपति राम नाथ कोविन्द, उपराष्ट्रपति बेंकैया नायडु, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गर्नेछन्। ओलीको यस पटकको भारत भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारी अधिकारीहरुले बताएका छन्। उनी २५ चैत्रमा स्वदेश फर्कनेछन्।
यस्तो छ ओलीको दिल्लीमा कार्यक्रम–इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि सिधै राष्ट्रपति भवन पुग्ने ।
–केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया हुने। नेपालमा लगानीको ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने ।
–कार्यक्रमपछि दिवाभोजमा सहभागी हुने ।
–भारतीय राजनीतिक दलका नेताहरूले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्ने। भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्ने ।
–साँझ बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने।
–नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा एक होटलमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने। रात्रीभोजमा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय पनि सहभागी हुनेछन्। दूतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई पनि निमन्त्रणा गरेको छ।
२४ चैत –बिहानै राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई स्वागत गर्ने र केहीबेर वर्ता हुने।
–भारतीय सेनाले उच्च सैनिक गार्ड आफ् अनर दिने ।
–भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट हुने ।
–त्यसपछि प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल सहभागी हुने। राजघाटमा महात्मा गान्धीको समाधीस्थलमा द्विप प्रज्ज्वलन गर्ने ।
–हैदरावाद हाउसमा सुरूमा ओली र मोदीबीच वन टु वन वार्ता हुने। लगत्तै प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा छलफल।
–छलफलपछि दुई देशबीच हुने सम्झौता तथा पत्रआदनप्रदान सम्बन्धी कार्यक्रम हुने।
–संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिने। ओली र मोदीले सम्बोधन गर्ने।
–हैदरावाद हाउसमै दिवाभोजमा सहभागी हुने ।
–साँझ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने।
२५ चैत –ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जाने ।
–साँझ दिल्लीबाट स्वदेश फर्किने ।
https://www.youtube.com/watch?v=5WLB9ExM0_s&feature=youtu.be