प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उद्योगी र व्यापरीहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
उनले नेपालमा बजारको समस्या नभएको तर उत्पादनको अभाव भैरहेको बताए। भारतीय उद्योग वाणिज्य संघ र चेम्बरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा ओलीले नेपालले लगानीकर्ताका लागि विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरेको, भारत र नेपालले भन्सार विन्दुमा संयुक्त चेकपोस्ट निर्माण गरेको तथा नेपालमा मजदुरको लागत समेत कम रहेको भन्दै लगानीका लागि आग्रह गरे।
‘भारत र नेपाल पाँच ठाउँबाट रेल मार्फत् जोडिदैछन्’, ओलीले भने, ‘विशेष आर्थिक क्षेत्रहरु भारतीय सीमानाबाट नजिकै निर्माण गरिएका छन्।‘
उनले जलविद्युत र कृषिमा आधारित क्षेत्रमा लगानीका लागि व्यवसायीहरुका लागि नेपालमा आउन सुझाए। भारत र नेपालबीच दोहोरो कर मुक्तीको सम्झौता भएको तथा ट्रान्समिसन लाइन र विद्युत व्यापारको सम्झौता भएको भन्दै लगानीको उचित वातावरण रहेको धारणा राखे।
भारत नेपालको बीचमा सांस्कृतिक समानता रहेको भौगोलिक निकटता रहेकाले व्यवसायसमा समस्या नहुने उनको भनाई थियो। उनले भारतीय पर्यटकहरुलाई नेपाल जान समस्या नभएकाले पर्यटनमा लगानीका लागि समेत आग्रह गरे।
तीन दिने भारत भ्रमणका लागि प्रभानमन्त्री ओली आज बिहान दिल्ली पुगेका हुन्।