शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भर्ना भएकै दिन विद्यार्थीको हातमा किताब दिइने बताएका छन्। किताब छाप्ने काम ९५ प्रतिशत सकिएको र ९० प्रतिशत पुस्तक प्रदेशमा पठाइसकेकोले भर्ना भएकै दिन विद्यार्थीले किताब पाउने उनले बताए।
‘विद्यार्थी भर्ना भएकै दिन हातहातमा किताब दिन्छौं’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार मन्त्रालयमा गरेको भर्ना अभियान सुरूवात गर्दै मन्त्री पोखरेलले भने, ‘विद्यालयभन्दा बाहिर रहेका सबै बालबालिकालाई यही शैक्षिक सत्रमा विद्यालय शिक्षा दिन्छौं।’
वर्षेनी शैक्षिक सत्र सुरू हुँदा सरकारले विद्यार्थी भर्ना अभियान धुमधामले सुरू गर्छ। विद्यालय भर्ना भएका अधिकांश विद्यार्थी अन्तिम परीक्षा दिने बेलासम्म कक्षा छाडिसकेका हुन्छन्। ५ देखि ९ वर्ष उमेरका २.८ प्रतिशत बालबालिका अहिले पनि विद्यालय बाहिर छन्।
आधारभूत तह १–८ मा ७.७ प्रतिशत बालबालिका विद्यालय बाहिर छन्। सलाही, धनुषा, पर्सा, रौतहट, बारा, कपिलवस्तुका बालबालिका विद्यालय बाहिर रहेको पोखरेलले बताए। ‘विगतमा धेरै घोषणा भए, काम भएन। सबै बालबालिकालाई विद्यालयमा भर्ना गछौं।’
बालबालिकालाई भर्ना गरेर मात्रै सरकारको दायित्व पुरा नहुने भन्दै मन्त्री पोखरेलले बीचैमा कक्षा छाड्ने प्रवृत्तिको अन्त्य गर्न घुमन्ते विद्यालय खोल्न सकिने उनले बताए। हिमपातपछि हिमाली भेगका बासिन्दा पहाड झर्दा विद्यार्थीको पढाइ पनि प्रभावित हुने गरेको छ।
संघीय शिक्षा ऐन र अधिकारमा आधारित शिक्षा ऐन बनाउन अझै एक वर्ष लाग्ने भएकोले भर्ना अभियानबाट नै विद्यालय बाहिरका बालबालिकालाई विद्यालयमा ल्याउन लागेको उनले बताए। ‘फेसबुकमा फोटो राख्न भर्ना अभियान चलाएको होइन। विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याउने हो। पढाउने हो’ मन्त्री पोखरेलले भने।
स्थानीय तहमा २ अर्ब बजेट पठाएकोले गुणस्तरीय शिक्षाका लागि जनप्रतिधिले प्रभावकारी काम गर्नुपर्नेमा उनले बताए। शिक्षा क्षेत्रमा लगानीअनुसार प्रतिफल नआएको उनको भनाइ छ। वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान चलाइने मन्त्रालयले बताएको छ।
१ देखि ५ कक्षासम्मको किताब रंगीन छपाइ गरिएको छ। सरकारी र निजीस्तरबाट किताब छाप्ने तथा ढुवानी गर्ने काम भएको हो। किताब खरिद गर्न स्थानीय सरकारमार्फत दुई अर्ब २२ करोड २२ लाख बजेट मन्त्रालयले पठाइसकेको छ।
मन्त्रालयले एक वच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा दायित्व भन्ने नारासहित विद्यार्थी भर्ना अभियान सुरूवात गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका एक विद्यार्थीको भर्ना गरेर यो अभियानको सुरुवात वैशाख ५ मा गर्दैछन्।
‘देशभर ४० हजार संघसंस्था छ। यिनीहरूले एकेक जना बालबालिका पढाउने जिम्मा लिने हो भने यो शैक्षिक सत्रमै विद्यालय बाहिर एक जना पनि बालबालिका रहँदैनन्’ उनले भने, ‘कर्मचारीहरू पनि यो अभियानमा सहयोगी बन्नेछन्।’
बालबालिकालाई वर्षमा दुइ जोर पोशाक र आवश्यक स्टेशनरी सामग्रीको जोहो गरिदिने हो भने बीचैमा कक्षा छाड्ने दरमा ह्रास आउने मन्त्री पोखरेल बताउँछन्। एउटा विद्यार्थी भर्ना गर्ने, पढाउने मन्त्रालयको अभियानमा नेता, कर्मचारी, कलाकार, विभिन्न संघसंस्थाले पनि साथ दिने वचन दिएका छन्।
मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले यो वर्ष चार जना बाल बालिकालाई पढाउने घोषणा गरे। लोकदोहोरी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बद्री पंगेनीले एक जना विद्यार्थीलाई शिक्षा दिन सहयोग गर्ने बताए। ‘शिक्षाको सत्रु गरिबी हो’ पंगेनीले भने।