भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दुई वर्षमा नेपाल बदलिएको टिप्पणी गरेका छन्।
हैदरावाद हाउसमा भएको पत्रकार सम्मेलनमा ओलीले दुई वर्ष अघिको आफ्नो भारत भ्रमणको समेत स्मरण गरे।
‘म दुई वर्ष अघिको भ्रमण सम्झन्छु। त्यो समयदेखि नेपालले धेरै परिवर्तन हासिल गरेको छ। नेपालमा राजनीतिक स्थायित्व कायम भएको छ। चुनाव भएको छ’, ओलीले भने, ‘मेरो भ्रमणको मिसन हाम्रो सम्बन्ध उचाइमा पुर्याउनु हो।‘
ओलीले नेपालले संक्रमणकाल पूरा गरेको र आर्थिक विकासको चरणमा प्रवेश गरेकाले साथीहरूको साथ चाहिएको बताए। उनले नेपाल र भारतको बीचमा गठन भएको प्रवुद्ध समूहको सुझावको आधारमा अब पुराना विषय सम्बोधन गर्ने बताए। उनले दुवै मुलुकको लक्ष्य समृद्धि भएको तर्क गरे।
ओलीले रेल र जलमार्गबाट नेपाल जोड्ने मोदीको भनाइमा खुसी व्यक्त गरे। उनले नेपालको जलविद्युतका लागि लगानी आवश्यक रहेको बताए।
‘रिभर नेभिगेसनबाट जोडिने विषयमा पनि हामीले छलफल गर्यौं’, ओलीले भने, ‘प्रधानमन्त्री मोदीले नपाल ल्याण्डलक नभई ल्याण्ड लिङ्क भएको बताउनुभयो। साथै यस्ता विषयमा भारत सकरात्मक रहेको हामीले प्रतिवद्धता पाएका छौँ। अब हामी जलमार्गबाट पनि जोडिने भएका छौं। यो हाम्रा लागि खुसीको कुरा हो।'
ओलीले रेलमार्गबाट काठमाडौं जोडिने विषयमा पनि खुसी व्यक्त गरे। प्रधानमन्त्री मोदीले भने नेपाल र भारतले यस्तो रेल मार्ग संयुक्त रूपमा बनाउने बताए।
ओलीले मोदीलाई नेपाल भ्रमणमा आउन निम्तो समेत दिएका छन्।