संघीय संसद सचिवालयमा दुई सचिव थपिने भएका छन्। सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले एक एक जना सचिव नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्।
प्रतिनिधिसभाको सचिवमा गोपालनाथ योगी र राष्ट्रिय सभामा राजेन्द्र फुयाँलको नाम सिफारिस भएको हो। संविधानको धारा १०६ को १ मा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सभामुख/अध्यक्षको सिफारिसमा सचिव नियुक्तिको व्यवस्था छ।
सचिवहरूले संसद बैठक सञ्चालनमा सहजीकरण गर्नेछन्। तर व्यवस्थापनको काम भने गर्न पाउने छैनन्। योगीको नाम विगतमा ओनसरी घर्तीले पनि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्। तर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सिफारिस स्वीकृत भएको थिएन। उनै योगीलाई महराले प्रतिनिधि सभामा सिफारिस गरेका हुन्।
त्यस्तै राष्ट्रिय सभामा पत्रकार राजेन्द्र फुँयालको नाम सिफारिस भएको छ। फुँयाल कान्तिपुर दैनिकमा आबद्ध थिए। उनले असफल भएको पहिलो संविधानसभाबारे पुस्तकसमेत लेखेका छन्।