परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन्। परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणका क्रममा दुई देशीय सहकार्यबारे छलफल हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा चीनसँग भएका पारवहन सम्झौताको प्रोटोकलले पनि अन्तिम रुप पाउन सकेको छैन। परराष्ट्रमन्त्री ज्ञवालीले योसँगै बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई कार्यान्वयनबारेमा समेत छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।
चीनसँग भएका रेलमार्ग, आर्थिक सहकार्य लगायत सहमति र सम्झौता कार्यान्वयन तहमै पुग्न नसकेको अवस्थामा परराष्ट्रमन्त्रीको भ्रमणले अर्थपूर्ण छलफल गर्ने अपेक्षा राखिएको छ । नेपाल–चीन परराष्ट्र सचिवस्तरीय परामर्श समितिको बैठक बोलाउनेबारे समेत छलफल हुनसक्ने परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ ।