पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई चार दिनदेखि भारतको बैङ्गलोरमा छन्। उनी आफ्ना ८८ वर्षिय पिता भोजप्रसाद भट्टराईलाई तिर्थाटन गराउन भारतको भ्रमणमा गएका हुन्।
संसदको अधिवेशन चालु नरहेको अवसर पारेर भट्टराई नयाँ वर्षको अघिल्लो दिन बैंगलोर लागेका हुन्। उनको साथमा पत्नी हिसिया यमी समेत छिन्। भट्टराईले पिता भोजप्रसादलाई रामेश्वरमधाम तिर्थाटन गराएका हुन्।
भट्टराईले फेसबुमा तिर्थाटन गराएर आफूले पुत्रधर्म निर्वाह गरेको उल्लेख गरेका छन्। भारतमा रहँदा उनले बैंगलोरमा रहेका नेपाली विद्यार्थीहरुसँग भेटघाट समेत गरेका छन्। त्यस्तै रानी जगदम्बाले बनाइदिएको नेपाली धर्मशालाको स्याहार नभएकोमा दु:ख व्यक्त गरेका छन्।
रामेश्वरबाट भट्टराईले आफ्नो फेसबुकमा दैनिक गतिविधि समेत अपडेट गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट देशको नाममा गरेको सम्बोधनमा टिप्पणी समेत गर्न भ्याएका छन्।
'साहित्यका अनुरागी,भावुकतामा पग्लने, स्वैरकल्पनामा रमाउनेहरूका लागि प्रधानमन्त्रीको सम्बोधधन बेजोड छ', भट्टराईले सार खिचेका छन्, 'रारा सम्बोधनले ओली सरकारबाट आगामी ५ बर्ष नेपाली जनताले कुनै नयाँ कुरा पाउनेछैनन् भन्ने मात्र झल्कायो है।'
भट्टराईले पितालाई रामेश्ववरबाट द्वारकाधाम लैजाने उनको सचिवालयले जनाएको छ। लगत्तै भट्टराई दिल्ली पुग्नेछन्। दिल्लीमा भट्टराईले आउँदो ८ गते नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाजको भेलालाई सम्बोधन गर्नेछन्। उनी सोही दिन काठमाडौँ फर्कने कार्यक्रम समेत रहेको उनको सचिवालयले जनाएको छ।