प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालका भाषणहरू चिनियाँ भाषामा प्रकाशित भएका छन्। मंगलबार बेइजिङमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चिनिँया भाषामा प्रकाशित ओलीका भाषणहरूको संगालोको विमोचन गरे।
परराष्ट्र मन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीका भाषणहरूको संगालो प्रकाशनले चीनमा नेपालको समसामयिक राजनीतिक विकासप्रतिको रूची प्रतिबिम्वित हुने बताए।
'यो पुस्तकका पाठकले महत्वपूर्ण समसामयिक विषयमा प्रधानमन्त्री ओलीको धारणा सम्मृद्ध र अग्रगामी नेपालीप्रतिको भिजनबारे जानकारी दिनेछ,' परराष्ट्र मन्त्री ज्ञवालीले भने।
ओलीले पहिलो कार्यकालमा गरेका ६० भाषण उक्त पुस्तकमा समेटिएका छन्। नेपालीमा 'म प्रधानमन्त्री हुँदा' नाम दिएर भाषणको सङ्गालो पुस्तकको रूपमा प्रकाशित छ। यिनै भाषण अंग्रेजीमा 'सेलेक्टेड स्पिच अफ केपी शर्मा ओली' पुस्तकमा छापिएका छन्।
पुस्तकको सम्पादन विष्णु रिमाल र शार्दूल भट्टराईले गरेका हुन्। चिनियाँ भाषामा पुस्तकको अनुवाद सन्छान् विश्वविद्यालयकी प्राध्यापक ली ताओले गरेकी हुन्।
पुस्तक सिचुवान विश्वविद्यालयको साउथ एसियन इन्स्टिच्युटको सहयोगमा प्यान्गोल इन्स्टिच्युटले प्रकाशन गरेको हो।
पुस्तकमा ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेको पहिलो सम्बोधन र संसदमा अविश्वासको प्रस्तावमा जवाफ दिँदै गरेको सम्बोधनसमेत समावेश छ। त्यस्तै ओलीले भारत र चीन भ्रमणका क्रममा दिएका मन्तव्य र सार्कको आवश्यकताबारे गरिएको सम्बोधनसमेत समेटिएको छ।