अमेरिकी जासुसी संस्था सिआइएका प्रमुख माइक पम्पेओले उत्तर कोरियाली शासक किम जोङ उनसँग भेट गरेका छन्।
वासिङटन पोष्ट र समाचार संस्था रोयटर्सले राष्ट्रपति ट्रम्पले विदेश मन्त्रीमा नियुक्त गरेका पम्पेओले अप्रिल पहिलो साता उत्तर कोरियाको गोप्य भ्रमण गरेको उल्लेख गरेका छन्।
राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक किमबीच हुने शिखर वार्ताको तयारी स्वरूप पम्पेओ प्योङयाङ पुगेको समाचारमा जनाइएको छ।
मंगलबार राष्ट्रपति ट्रम्पले अमेरिका र उत्तर कोरियाबीच उच्च तहमा सिधा कुराकानी भएको र शिखर वार्ताका लागि सम्भावित पाँच स्थानबारे छलफल भएको बताएका थिए। ह्वाइटहाउसले राष्ट्रपति ट्रम्प र उनबीच भने सिधा कुराकानी नभएको जनाएको छ।
यसअघि जासुसी संस्थाका माध्यमबाट उत्तर कोरियासँग सम्बन्ध राख्ने अमेरिकाले विदेश मन्त्री नियुक्त भइसकेका पम्पेओलाई प्योङयाङ पठाएको हो। यो सन् २००० पछि उच्च अमेरिकी अधिकारीले गरेको पहिलो उत्तर कोरिया भ्रमण हो। तत्कालीन अमेरिकी विदेश मन्त्री म्याडेलिन अल्ब्राइटले सन् २०००मा प्योङयाङमा उत्तर कोरियाली शासक किम जोङ इललाई भेटेका थिए।
ट्रम्पले यसअघि नै छिट्टै किमसँग शिखर वार्ता हुन बताएका थिए।