चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भेटवार्ता भएको छ। बेइजिङमा भएको वार्तापछि दुवैले संयुक्त सम्बोधन समेत गरेका छन्।
संयुक्त सम्बोधनमा चिनियाँ विदेशमन्त्री वाङ यी ले नेपाल र चीनबीच हिमालयपार 'कनेक्टिभिटी' विस्तार गर्ने समझदारी भएको बताए। उनले यस्तो कनेक्टिभिटी भारतसम्म पुग्नुपर्ने धारणा राखे। नेपाल र चीनबीच निर्माण हुने रेललाई इङ्गित गर्दै विदेशमन्त्री यी ले यस्तो कनेक्टिभिटीबाट निर्माण हुने आर्थिक कोरिडरले तीन वटै देशको विकासमा मद्दत पुग्ने उल्लेख गरे।
उनले ठूला ठूला पूर्वाधार निर्माण गरेर चीन-नेपाल-भारत आर्थिक कोरिडर निर्माण गर्नुपर्ने बताए। 'नेपालको विकासका लागि चीन र भारतको साझा धारणा बन्नुपर्छ', यी ले सम्बोधनमा भने, 'हामी छिट्टै 'बेल्ट एण्ड रोड इनिसिएटिभ' अन्तर्गत निर्माण हुने आयोजनाहरुको सूची सार्वजनिक गर्नेछौँ।'
उनले नेपालको उर्जा आवश्यकतालाई पूर्ती गर्न स्रोतहरुको विविधीकरणमा चीनले सहयोग गर्ने वचन दिए। प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालका क्रममा भएको चीन भ्रमणका दौरान चीन र नेपालबीच अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माणको समझदारी भएको थियो।
परराष्ट्र मन्त्री ज्ञवालीले भने नेपालबाट आधुनिक रेलमा चीन भ्रमण गर्ने आफ्नो सपना रहेको बताएका थिए। उनले नेपाल र चीनबीच रेल्वे निर्माणको छिट्टै सम्भाव्यता अध्ययन गर्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि ज्ञवाली बेइजिङ पुगेका हुन्। चीन जानु अघि ज्ञवालीले 'बेल्ट एण्ड रोड इनिसिएटिभ' र कनेक्टिभीटीका विषयमा छलफल गर्ने बताएका थिए। चीनले १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना 'बेल्ट एण्ड रोड इनिसएटिभ' कार्यक्रम अन्तर्गत निर्माण गर्न प्रस्ताव गर्दै आएको छ।
ज्ञवालीले विदेशमन्त्री वाङ यीलाई भेट्नु अघि उप राष्ट्रपति वाङ क्विसानसँग भेटवार्ता गरेका थिए। पाँच दिने चीन भ्रमणका लागि ज्ञवाली गत सोमबार बेइजिङ प्रस्थान गरेका हुन्।