चुनावी पराजयको समीक्षालगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक केहीबेरमा बस्ने भएको छ।
केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधन भएपछि चैत १६ गतेदेखि स्थगित भएको थियो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आजदेखि पुनः सुचारु हुन लागेको हो।
वैठकमा पार्टीले तीन वटै तहको निर्वाचनमा पराजय भोग्नु पर्नाका कारणको खोजी भइरहेको नेताहरुले जनाएका छन्। अहिलेसम्म ४२ जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्।
बैठकका लागि नयाँ एजेण्डा केही नभएको प्रवक्ता विश्वप्रकाश शर्माले सेतोपाटीलाई बताए। ‘मुख्यगरी बैठकमा चुनावी हारको समीक्षा नै हुनेछ’ उनले भने।
पार्टीलाई थप सशक्त बनाएर लैजानुपर्ने युवा केन्द्रीय सदस्यले जोड दिँदै आएका छन्। विधानविपरीत सभापति शेरबहादुर देउवाले गठन गरेका समिति भंग गर्नुपर्ने उनीहरुको माग छ। ‘पार्टीलाई कसरी वलियो बनाउने भन्ने एजेण्डासहितको प्रस्ताव ल्याउने तयारी छ’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने।
बैठकमा सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पक्षधरका नेताहरुले आफ्नो पक्षको बचाउ तथा विरोधमा अभिब्यक्ति दिने गरेका छन्। सभापति देउवाको कार्यशैलीका कारण पार्टीले चुनाव हारेको पौडेल पक्षको आरोप छ। हारको जिम्मेवारी सभापतिले मात्रै होइन सबै नेताले लिनुपर्ने देउवा निकटका नेताहरुले बताउँदै आएका छन्।
सभापति देउवा विधान बमोजिम चल्न नसकेको नेताहरुले बताएका छन्। मुलुक संघीय संरचनामा गए पनि कांग्रेस एकात्मक विधानबाटै चलिरहेको छ। पौडेलसहितका नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतले दुई महिनाभित्र मनोनित गर्नुपर्ने पदाधिकारी दुई वर्ष वितिसक्दा पनि मनोनित गर्न नसक्नु सभापतिको कमजोरी हो भनेका छन्।
नेताहरुले विधान संशोधन समिति गठन गर्न माग गरेका छन्। ‘पदाधिकारी मनोनित गर्ने विषयमा खासै तयारी गरिएको छैन’ प्रवक्ता शर्माले भने। सभापतिले बैठकमा नाम प्रस्ताव गरेपछि बैठकले सो नामहरु अनुमोदन गरेमा मात्रै पदाधिकारी मनोनित हुन्छ।