प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका विषयमा एक्ला एक्लै छलफललाई निरन्तरता दिएका छन्।
उनीहरुले वैशाख ९ गतेका लागि गर्ने भनिएको एकता यसअघि नै समय अपुग हुने भन्दै सारिसकेका छन्।
बिहीबार ३ घण्टा एक्लाएक्लै छलफल गरेका ओली र प्रचण्डले शुक्रबार पनि २ घण्टा छलफल गरे।
त्यसअघि बैशाख ३ गते उनीहरुले एक्लाएक्लै छलफल गरेपछि ४ गतेका लागि एकता संयोजन समिति बैठक डाकेका थिए। ४ गतेको एकता संयोजन समितिको बैठकपछि पनि दुई नेताले केहीबेर बालुवाटारमा एक्लाएक्लै छलफल गरेका थिए।
त्यसयता दुई नेता लगातार एक्ला एक्लै छलफलमा छन्।
माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार छलफलले भोलि पनि निरन्तरता पाउनेछ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत पार्टीमा आफ्नो भूमिका के हुने? भन्ने विषय स्पष्ट हुनुपर्ने धारणा राख्दै आएका छन्। उनले पार्टी एकता गर्दा समानताका आधारमा हुनुपर्ने सार्वजनिक धारणा समेत राख्दै आएका छन्।
दुई दलबीच एकीकृत पार्टीको स्थायी, पोलिटब्युरो र केन्द्रीय समितिमा रहने व्यक्तिहरुको अनुपातका विषयमा सहमति जुटेको छैन। त्यस्तै राजनीतिक प्रतिवेदनमा जनयुद्ध विषय राख्ने कि नराख्ने तथा चुनाव चिन्ह के हुने भन्ने विषय समेत टुङ्गोमा पुगेको छैन।
एकतामा सहयोगका लागि दुवै पार्टीले गठन गरेको कार्यदलले काम सकेर यसअघि नै संयोजन समितिमा पठाइसकेको छ। संयोजन समितिले प्रतिवेदन अध्ययन गरेर एकताको टुङ्गो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएको छ। जिम्मा पाएको दिन देखि नै दुई नेताले एक्लाएक्लै छलफल गर्दै आएका छन्।