नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले पार्टीसभापति बनाउन शेरबहादुर देउवालाई गरेको प्रस्ताव फिर्ता लिएको घोषणा गरेका छन्।
पार्टी कार्यालय सानेपामा चलिरहेको चुनावी समिक्षा वैठकमा आइतबार बोल्दै गुरुङले महाधिवेशनमा गरेको प्रस्ताव र समर्थन फिर्ता लिएको बताएका हुन्। उनले लिखित प्रतिवेदन पेश गरेका थिए।
'१३औँ महाधिवेशनमा क्रममा विधिवत रुपमा देउवा जीलाई कांग्रेस सभापतिका लागि प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा समेत यस गरिमामय कार्यसमिति वैठकलाई दुखका साथ सुनाउँछु,' उनले भने।
१३ औँ महाधिवेशनमा सभापतिका लागि उनी देउवाका प्रस्तावक र खुमबहादुर खड्का समर्थक थिए। वैठकमा बोल्दै उनले देउवाले आफ्नो भरोसा तोडेको समेत बताए।
'स्थानीय चुनावमै पराजयको एउटा संकेत आइसकेको थियो। त्यसपछि हामीले चुनावी तयारी गर्नुपर्थ्यो। पार्टीका विभाग गठन गर्नुहुन्छ अन्य समस्या समाधान गरेर चुनावी तयारी राम्रो गर्नुहुन्छ भन्ने सभापतिबाट मलाई भरोसा थियो तर टुट्यो,' उनलाई उदृत गर्दै एक नेताले भने।