नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले १२ औं महाधिवेशनको वातावरण बनाउन माउ पार्टीका सभापति शेरबहादुर देउवासँग माग गरेको छ।
महामन्त्री कुन्दनराज काफ्लेले सोमबार सभापति देउवालाई बुझाएको ज्ञापन पत्रमा नेविसंघलाई नाटकघर बनाउने कार्य भएको भन्दै महाधिवेशनको मिति र स्थानसमेत तय गर्न माग गरिएको छ। उनीहरूले केहीबेर पार्टी कार्यालय सानेपामा धर्ना पनि दिएका थिए। पार्टीको चुनावी समीक्षा चलिरहेकै बेला नेविसंघ नेताले सभापति देउवालाई भेटेका थिए।
अध्यक्ष नैनसिंह महरले विधानविपरित तोक र आदेशका भरमा चिठीपत्रमार्फत् जिल्ला सभापति बनाएको आरोप लगाउँदै नेविसंघको असन्तुष्ट समूहले अवैधानिक निर्णय खारेज गर्न माग गरेको हो।
नेविसंघको महाधिवेशन भएको २० महिना भइसकेको छ। नेविसंघको विधान अनुसार हरेक २ वर्षमा महाधिवेशन हुनुपर्छ।
११ जिल्लाका विवाद समाधान गर्न नसकेको लगायत विषयमा सभापति देउवाको ध्यानाकर्षण गरेको केन्द्रीय सदस्य सुशील भट्टले बताए।
सभापति देउवाले नेविसंघभित्रको विवादबारे आफू जानकार रहेको भन्दै छिटो समस्या समाधान गर्ने बताएको उनले जानकारी दिए।