प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवीहरुलाई 'मुसा'सँग तुलना गरेका छन्।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले पानीजहाज, रेल लगायतबारे आफ्ना योजनालाई आलोचना गर्ने बुद्धिजीवीलाई मुसासँग तुलना गरेका हुन्।
'मुसाको दाँतमा धार लागेन भने दाँत लामो हुन्छ। बांगिएर नलाग्ने हुन्छ। मुसाले दाँत काट्ने बनाइराख्नुपर्छ। मुसाले कपडा काटेको नोक्सान गर्न काटेको होइन। दाँत धारमा लाग्न बनाएको हो', ओलीले भने, 'मुसाले दाँतको धार लगाउँदा थाहा नपाएर माइती जानेको साडी काटिदिएछ। ससुराली जानेको सुट काट्छ। बुद्धिजीवीले देशलाई नोक्सान पार्नेगरि दाँतमा धार किन लगाउने? रारालाई महेन्द्रताल भनेको छ। महेन्द्र जन्मिनु अघि सयौँ करोडौँ बर्ष अघि थियो। हेर बुद्धिजीवीको कुरा।'
आमाबालाई समेत विश्वविद्यालय पठाएकोमा पश्चाताप गरिरहेको हुनसक्ने पनि उनको भनाई छ।
उनले आफ्नो रेल, पानी जहाज र केलबारका आफ्ना विषयमा पत्रपत्रिकामा आउने टिप्पणीलाई समुन्द्रको छाल भएको तर्क गरे।
'पत्र पत्रिकामा हेरिराख्नु भएको होला। छाल आउँछ। किनारबाट हेर्दा छाल जस्तो लाग्छ', ओलीले भने, 'कति हजार फीट गहिरो समुन्द्रका लागि माथि माथि यसो सतह हल्लिदाँ केही हुदैँन। समुन्द्रका लागि सामान्य कुरा हो।'
उनले पत्रपिकामा आउने समाचारमा समाधान उल्लेख नहुने बताए।
'समाधानको कुरा हुँदैन त्यहाँ', ओलीले भने, 'रेल त्यसै बन्दैन, अरुसँग लिनुपर्छ। सर्त राख्छन् कि भन्ने हुन्छ। के गर्नुपर्ने भन्ने हुदैँन।'
ओलीले काम गर्नेहरुलाई खेदो खनेर कोही कोही डिठ्ठा पल्टने गरेको दावी गरे।
'असारमा खेतमा पस्न हुदैँन। पालिस लगाएको जुत्ता लगाएर यो धान रोपाँइ महेन्द्रिय भयो। यो उद्योग खोलाइ पृथ्वीनारायणीय भयो। त्यस्ता गफाडि भेटिन्छन्,' उनले भने।
आफूले लगाइरहेको टोपी देखाउँदै उनले बस्तुको उत्पादन, आयात र निर्यातबारे उदाहरण दिए।
'मैले टोपी लगाएको छु। धागो भारतको छ। कोट सिलाएको मात्र यहाँ। सिलाउने मेसिन अन्तको, धागो भारतको हो', ओलीले भने, 'उपभोग्य वस्तुको उत्पादन र निर्यातमा अब हाम्रो ध्यान जान्छ।'
प्रधानमन्त्री ओलीले नेपालमा अहिलेपनि सामाजिक सद्भाव र जातिय क्षेत्रीय सद्भाव खलबल्याउने कोसिस भैरहेको दावी गरे। साथै अन्तराष्ट्रिय समुदाय हिंसा फैलाएर नेपालमा आउन चाहिरहेको तर्क गरे।
'दुई बिरालोले रोटी मिलाएर बाँड्न सकेनन्। एउटा बाँदर हेरिराखेको रहेछ। उसले आएर रोटी च्यात्यो। हातले तौलियो। जता बढी भयो त्यो टुक्रो खायो। यसरी तौलिँदा तौलिदैँ सबै खायो। दुइ बिरालो हेरेको हेरेकै भए।' तर नेपालीहरु लाटा भएपनि बाँडेर खान जान्ने प्रधानमन्त्री ओलीको भनाई थियो।
उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शब्दको अर्थ नजानेका कारण आफ्नो भारत भ्रमणलाई लम्पसारवाद भनेको बताए।
'भारत भ्रमणलाई लम्पसारवाद भनेको सुनेँ तर अहिलेको प्रधानमन्त्रीको भारत भ्रमणलाई लम्पसारवाद भन्दा दुनियाँ हाँस्छ। कि त शब्दको अर्थ थाहा रहेनछ भन्ने बुझ्छ,' उनले भने।
https://www.youtube.com/watch?v=sqxYx1F-HGM&feature=youtu.be