सरकारले पुष्प कँडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले एमाले केन्द्रीय लेखा आयोगका अध्यक्षसमेत रहेका कँडेललाई योजना आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो।
धादिङको बनिघाटका स्थायी वासिन्दा कँडेलले कर प्रणालीमा विद्यावारिधि गरेका छन्। उनी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका प्राध्यापक थिए। सहप्राध्याकबाट सेवा सुरू गरेका उनले ३० वर्ष विश्वविद्यालयमा पढाए। ३ वर्ष अघि उनले प्राध्यापक पदबाट राजीनामा दिएका थिए।
'पार्टीको जिम्मेवारी बढेपछि मैले पदबाट राजीनामा दिएँ', कँडेलले सेतोपाटीसँग भने, 'लेखा आयोगको अध्यक्ष भनेको एमालेमा स्थायी समितिको आमन्त्रित सदस् समेत हो।'
उनका दुई सन्तान र श्रीमती छन्। उनकी श्रीमती सरकारी जागिरे हुन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान योजना आयोगमा नियुक्तिका विषयमा छलफल गरेका थिए।
आजैको मन्त्रिपरिषद्ले आयोगका सदस्यमा उषा झा, दिलबहादुर गुरुङ, सुशील भट्ट, कृष्णप्रसाद ओली, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरेको छ।