चुनावमा भएको हारको समिक्षा गर्न भन्दै चैत ९ गते देखि चलिरहेको कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम चरणमा पुगेको छ।
एकमहिना लगाएर बसेको बैठकमा ६६ जना केन्द्रीय सदस्यले निर्वाचनको समिक्षा गर्दै चुनावी हारको बिषयमा आफ्ना धारणा र सवाल राखेका थिए।
सभापति शेरबहादुर देउवाले आज उनीहरुका प्रश्नको सम्बोधन गर्ने छन्। सभापति देउवा सहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादवले पनि आज केन्द्रीय समितिमा जवाफ दिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
पदाधिकारी बोल्नु अघि गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदारले आफ्ना धारणा राख्ने छन्।
'अब केन्द्रीय समिति बैठक अन्तिम चरणमा प्रवेश गरेको छ। आजै सभापति सहित पदाधिकारीहरुले वैठकमा उठेका प्रश्नको जवाफ दिनुहुने छ। त्यसपछी महामन्त्रीले निर्णय गर्ने विषय प्रस्ताव गर्नुहुन्छ,' प्रवक्ता शर्माले भने।
केन्द्रीय समितिमा बोलेका रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षका नेताहरुले नेतृत्वका कारण चुनाव हारिएको भन्दै सभापतिको आलोचना गरेका थिए। कतिपयले शीघ्र महाधिवेशन हुनुपर्ने माग गरेका थिए। केही यूवा नेताहरुले चुनावी हारको गहिरो समिक्षा गर्दै सिद्धान्त र रणनीति नै परिवर्नन नगरि कांग्रेस सुधार नहुने धारणा राखेका थिए। पुराना पुस्ताका नेताहरुले अभिभावक बनेर बस्न र नयाँ पुस्तालाई पार्टी सञ्चालन गर्न दिन पनि उनीहरुले सुझाएका थिए।
देउवापक्षका नेताहरुले वामगठबन्धन र पार्टीभित्रको अन्तरघातका कारण चुनाव हारिएको धारणा राखेका थिए। रिक्त पदहरु नियुक्ति गर्न,महासमितिमार्फत विधान संसोधन गरेर संविधान अनुसार पार्टी संरचना निर्माण र विभागहरु गठन गर्नुपर्ने धारणा देउवापक्षका नेताहरुले राखेका थिए।