प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीलाई बिर्सेको दिन नेपालको कम्युनिष्ट पार्टी समाप्त हुने चेतावनी दिएका छन्।
प्रधानमन्त्री ओलीले ढलेको कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउने मनमोहन अधिकारीजस्ता नेताहरुको फोटो हटाउने हर्कत वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको दिनमा भएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।
नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवम् एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसर पारेर बिहिबार सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पुष्पलाल, मनमोहन अधिकारीजस्ता नेताहरुको चाहना मुलुकको समृद्ध भएकाले सरकारले त्यसलाई अभियानको रुपमा अघि बढाएको पनि बताए।
प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसँग पार्टी एकता हुनेमा शंका नगर्न पनि आग्रह गरे। उनले ‘आफू कहाँ रहन्छु’ भन्ने केहीको चिन्ताका कारण पार्टी एकता हुँदैन कि भनेर आशंका गर्ने ठाउँ उब्जाए पनि आम जनता, पार्टीका नेता, कार्यकर्ता पार्टी एकताको पक्षमा रहेको पनि स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले सरकारले पछौटेपन हटाएर मुलुकलाई समृद्ध बनाउन अनुकूल वातावरण बनाउने काम गरिरहेको पनि बताए।
उनले कर्णालीदेखि तराईसम्मको विकासका लागि आवश्यक विशेष नीति तथा कार्यक्रम बनाउने घोषणा पनि गरे। उनले मनमोहन अधिकारीलाई अविचलित आस्था र निष्ठाको धरोधर नेताको रुपमा चित्रण गरे।
कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले पनि मनमोहन अधिकारीले नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा पुर्याएको योगदानको चर्चा गरेका थिए।