प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि ‘उपयुक्त मिलान र जडान’ हुनु पर्ने बताएका छन्। नेता मनमोहन अधिकारीको स्मृति दिवसका अवसरमा राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सिमेन्टको ढलानलाई ‘बिम्ब’ को रूपमा व्याख्या गर्दै पार्टी एकताका समस्यासमेत ब्याख्या गरे।
उनले एकताको ‘मात्रा मिलाउनु’ मुख्य समस्या भएको खुलाए।
‘सिमेन्ट सिमेन्ट हुन्छ, पानी पानी हुन्छ र त्यसमा गिटी घोलेर एकठाउँमा प्लास्टर गरिदियो भने त्यो बेग्लै बन्छ। हामी त्यसैगरी बालुवा, गिटी, सिमेन्ट, पानी उपयुक्त मात्रामा मिलाएर एकता गर्दैछौं’, ओलीले भने, ‘समस्या के छ भने मात्रा उपयुक्त हुन्छ कि हुँदैन? उपयुक्त मात्रा भएन भने नजम्ला कि भन्ने पिर हुन्छ।'
माओवादी केन्द्रले समानताका आधारमा पार्टी एकता हुनु पर्ने धारणा राख्दै आएको छ।
प्रतिनिधि सभा निर्वाचनमा ६०/४० को भागवण्डा गरेका दुई पार्टीले राष्ट्रिय सभामा उम्मेद्वारी दिँदा ६८/३२ को भागबन्डा गरेका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता सम्मान, समानता र न्यायोचित आधारमा हुनु पर्ने बताउँदै आएका छन्।
दाहालले एकीकृत पार्टीमा आफ्नो भूमिकाबारे अहिल्यै स्पष्ट हुनु पर्ने बताएपछि वैशाख ९ गते हुने भनिएको दुई पार्टीको एकता टरेको थियो।
प्रधानमन्त्री ओलीले दाहाल र अन्य नेताहरूले एकीकृत पार्टीमा भूमिका खोजेको विषयलाई समेत ‘बिम्ब’कै प्रयोगबाट ब्याख्या गरे।
‘यस्तो बेलामा गिटीले मेरो महत्व बढी छ भन्छ। बालुवाले मेरो महत्व बढी छ भन्छ। पानीले फुक्का भयो भने जम्दैन है भन्छ। सिमेन्टले ‘सिमेन्टको महत्व बुझेका छौं’ नत्र तीन वटा जोडेर के हुन्छ भन्छ’, ओलीले भने, ‘यस्ता कुरा आउँछन् तर हामीले सन्तुलन हेर्छौं। उपयुक्त मिलान, उपयुक्त जडान गरेर पार्टी एकता हुन्छ।'
एकतापछि झन्डै ३ सय सदस्यीय केन्द्रीय समिति बनाउने समझदारी भएको छ। एमालेले आफ्ना २ सय र माओवादीका १ सय केन्द्रीय सदस्य राख्ने प्रस्ताव गरेको छ।
प्रधानमन्त्री ओलीले ‘बिम्ब’कै प्रयोगबाट माओवादीबाट संख्या थप गर्ने संकेत दिए।
‘अलिकती तलमाथि पर्यो भने केही हुँदैन। अलिकति पानी बढी भयो भने सुक्न बढी समय लाग्छ त्यत्ति हो। त्यो मिलिहाल्छ। हामी एकीकृत पार्टी निर्माण गर्छौँ।'
उनले एकीकृत पार्टी छिट्टै घोषणा हुने दाबी गरे। एमाले र माओवादी केन्द्रको एकताले मनोवैज्ञानिक व्यवहारिक हिसाबले ठूलो परिवर्तन हुने उनको तर्क थियो।
उनले कति मान्छेमा एकतालाई लिएर अन्यौल र आशंका रहेको उल्लेख गरे। ‘म कहाँ हुन्छु, कति हुन्छ, कसो हुन्छ भन्ने विषयले चर्चा पाउँदा जनतामा आशंका बढेको छ’ उनको भनाइ थियो।
प्रधानमन्त्री ओली वैशाख ९ गते राष्ट्रिय सभागृहमा दुई पार्टीको संयुक्त कार्यक्रमका क्रममा ब्यानरमा भएको विवादको विषयसमेत उप्काए। उनले मदन भण्डारी, मनमोहन र पुष्पलालको योगदान बुझाउन नसक्दा समस्या भएको बताए।
कम्युनिष्ट पार्टी स्थापना दिवसको प्रसंग उठाउँदै उनले भने ‘केही केटाकेटीहरुलाई पुष्पलालको फोटो नहटाई भएन। किन? किनभने त्यो हाम्रो मान्छे होइन। हाम्रो मान्छे नभएकाले त्यो अर्को पार्टीको देखियो भन्ने पिर भयो।'
उनले ब्यानर विवादमा झन्झट मान्न नहुने तर्क गरे।
‘मनमोहन अधिकारीलाई आफ्नो मान्छे नदेख्ने पनि नेपालमा (कम्युनिष्ट) अब के लाग्छ’, ओलीले भने, ‘अलिक पछि बुझ्छन्। हामीले बुझाउन सकेका रहेनेछौं भन्नुपर्छ। बुझ्छन्। बुझ्नुको अर्को बाटो छैन।'
‘अहिले आएर टाँगेको ब्यानरमा उफ्रनु एउटा कुरा हुन्छ। राणा शासनको अन्धकार युगमा कम्युनिष्ट भएर उफ्रनु। कैलालीको जंगलमा बाघ भालूको जंगलमा मध्यरातमा छाडेर आउनु र अलपत्र परेर हिँड्नु ती कथा बेग्लै हुन्। अहिले त्यस्तो अवस्था छैन। अहिले त भन्न सकिन्छ मनमोहनको फोटो किन टाँस्ने भन्न सकिन्छ।'
https://www.youtube.com/watch?v=QxHduVNJfxY