दुई दिने अनौपचारिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन पुगेका छन्। बिहीबार राति मोदी हुवेई प्रान्तको राजधानी वुहान पुगेका हुन्।
त्यहाँ उनले आज दिउँसो स्थानीय समय अनुसार दिउँसो साढे ३ बजे चिनियाँ राष्ट्रपति सी जिन पिङलाई भेट्ने छन्। दुई नेताबीच एक्लाएक्लै हुने भेट हुवेई प्रान्तीय संग्राहलयमा तय भएको छ। भेट पछि दुबै नेताले संग्रहालयको अवलोकन गर्नेछन्।
त्यसपछि दुई देशका प्रतिनिधि मण्डलबीच कुराकानी हुनेछ। प्रतिनिधि मण्डलमा दुबै देशबाट छ छ जना सदस्य हुनेछन्।
साँझ राष्ट्रपति सीले मोदीको सम्मानमा इस्ट लेक गेष्ट हाउसमा रात्रीभोज दिनेछन्।
शनिबार अनुवादकमात्र राखेर दुई नेताले फेरि एक्लाएक्लै वार्ता गर्नेछन्।
दुई नेताहरू केहीबेर तालको किनारामा टहलिने छन्। त्यसपछि उनीहरूले तालमा डुंगा सयर गर्नेछन्।
मोदीको यो भ्रमणको कुनै एजेन्डा नभएको दुबै पक्षले बताएका छन्। मोदीले ट्वीट गर्दै सी र आफूले द्वीपक्षीय र अन्तर्राष्ट्रिय महत्वका विषयमा छलफल गर्ने बताएका छन्।
गत वर्ष चलेको ७३ दिन चलेको दोक्लम विवादपछि पहिलो पटक भारतीय प्रधानमन्त्री चीन भ्रमणमा गएका हुन्। अघिलो साता भारतीय विदेश मन्त्री सुष्मा स्वराजले चीन भ्रमण गरेकी थिइन्।