वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय अर्थतन्त्रमा देखिने गरि योगदान पुर्याउने उद्देश्य साथ कार्ययोजना तर्जुमा गरेको छ।
मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरि आगामी कार्यदिशा सार्वजनिक गरेको हो । यस वर्ष ५ लाखको रोजगारी श्रृजना गर्ने सरकारको लक्ष्य पुरा गराउन कम्तिमा २० प्रतिशत योगदान मन्त्रालयले दिने गरि कार्ययोजना अघि बढाईएको मन्त्री शक्ति बहादुर बस्नेतले जानकारी दिए।
उनले वनको बैज्ञानिक व्यवस्थापन सहित वन क्षेत्रको बहुआयामिक उपयोगबाट जनताको आर्थिक अवस्थामा सुधार र रोजगारीको अवसरहरु सिर्जना गरि स्थानीय, प्रादेशिक र राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्नु नै मन्त्रालयको मुख्य कार्ययोजना रहेको बताए।
कृषि वन र सहकारी वनको व्यवस्थापन, प्राकृतिक वातावरणको संरक्षण, सम्वर्धन गरि वातावरण सन्तुलन कायम राख्ने योजना पनि मन्त्रालयले अघि सारेको छ। गैह्र काष्ठका दृष्टिले थुप्रै सम्भावना रहेकाले ती सम्भावनाको पहिचान गरि रोजगारीको अवसर श्रृजना गर्नु र सुसासन कायम गराउनुलाई मन्त्रालयले मुख्य चुनौतिको रुपमा लिएको छ।
सार्वजनिक कार्यदिशा अनुसार कार्य संचालनका लागि विभिन्न १६ वटा विषयगत क्षेत्रहरुमा एक सय वटा गतिविधि पहिचान गरि समयवद्धरुपमा कार्यान्वय गर्ने प्रतिवद्धता पनि मन्त्री बस्नेतले जाहेर गरे।