नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका नेतालाई पदाधिकारी नियुक्त गरेपछि बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गरेको छ। पौडेल पक्षले पार्टीको विधान विपरित सभापतिले पदाधिकारी नियुक्त गरेको भन्दै विरोध जनाएको हो।
महाधिवेशनको दुई महिनाभित्र गर्नुपर्ने नियुक्ति २६ महिनापछि गर्नु विधान विपरित भएको पौडेल पक्षको जिकिर छ।
'२ महिनाभित्र गर्नुपर्ने नियुक्ति २६ महिनापछि भयो। तैपनि विधान संशोधन गरेर पदाधिकारी नियुक्ति गर्न सकिन्थ्यो। हाम्रो सुझावलाई वेवास्ता गर्दै सभापतिले बहुमतका आधारमा अवैधानिक निर्णय गर्नुभयो। यसमा हाम्रो आपत्ति छ,' कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भने।
शुक्रबार निर्वाचित केन्द्रीय समिति सदस्यको बैठकमा देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाश शरण महतलाई प्रस्ताव गरेका थिए।निर्वाचित केन्द्रीय सदस्यको बहुमतले उनको प्रस्ताव पास गरेको हो।
दिउँसो २ बजे बस्ने भनेको बैठक ५ बजेमात्र बसेको थियो। बैठक सुरुभएपछी विधान परिवर्तन वा बाधाअड्काउ फुकाउ भन्ने व्यवस्था पछि मात्र पदाधिकारी नियुक्ति गर्न भन्ने पौडेलपक्षको रणनीति थियो। तर बैठकको सुरुमै सभापति देउवाले पदाधिकारी प्रस्ताव गरे।
पदाधिकारीको प्रस्तावपछि नेता सिंहले विधान संशोधनपछिमात्र पदाधिकारी नियुक्ति गर्नुपर्ने र अहिले गरे त्यो अवैधानिक हुने धारणा राखेका थिए। उनको धारणापछि सभापति देउवाको प्रस्ताव बहुमतबाट पास भएको एक नेताले बताए।