प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा ‘धावा’ बोल्नेमाथि सरकारले कडा नीति लिने बताएका छन्।
राष्ट्रिय सुरक्षा परिषद्को १७ औं सचिवालय बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा ,कहिले जातिका नाममा आतंक मच्चाउनेहरूलाई नछोडिने चेतावनी दिए।
‘राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरूप्रति सरकार टुलुटुलु हेरेर बस्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्र अघि बढ्न लागेका बेला बाटोमा बम हान्ने, जनता एकजुट भएका बेला बिखण्डनका कुरा गर्ने, धार्मिक विद्वेष फैलाउनेबाट सजग हुनु पर्छ।’
प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रूत गतिमा अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताएका छन्। ‘अब प्रतिगमन र बिखण्डनका कुरा गर्नु दिवा सपना मात्र हो ,’ ओलीले भने, ‘कसैले षडयन्त्रको जगमा आफ्नो दुनो सोझ्याउन खोज्छ भने त्यसलाई ठिक लाउने ठाउँमा हामी छौं।’
राष्ट्रिय सुरक्षा परिषदले विगतको द्वन्द्व, हिंसा, नाकाबन्दीमा महत्वपूर्ण भूमिका निवार्ह गरेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘यो सबै भूमिका नेपालको स्वाभिमानको सुरक्षा हो।’
प्रधानमन्त्री ओलीले नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको बताए।
प्रधानमन्त्री ओलीले नेपालीहरू तोपसँग खुकुरीले लडेर जित हासिल गरेको जाति भएको स्मरण गर्दै अगाडि भने, ‘राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रैदेखि बलियो बनाउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने,‘भित्र कमजोर पार्ने तर बाहिर बलियो देखाएर मात्र हुँदैन।’
प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय सुरक्षा सम्बन्धी धारणालाई समयअनुकुल ढंगले अघि बढाउने तयारी गरेको बताए। ‘विगतमा पनि हामीले गौरव गर्ने हैसियत बनाएकै हौं, दासता नस्वीकारेका र पराधिन नभएको नेपाल अनन्तसम्म यही हैसियतमा रहनेछ,’ उनले भने।
कार्यक्रममा रक्षा मन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री युवराज खतिवडा लगायतको उपस्थिति थियो।