नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले पार्टी एकता अघि इतिहासको ‘रिअलाइजेशन’ गर्नुपर्ने बताएका छन्।
उनले माओवादीको अजेण्डामा अहिलेको राजनीति अगाडि बढेको र एमालेले पछि मात्र स्वीकार गरेका कारण एकताको क्रममा इतिहासको ‘रिअलाइजेशन’ एमालेबाट हुनुपर्ने बताए।
‘हामी गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रको निम्ति लडेको हौं। यो हाम्रो अजेण्डा हो। जनयुद्धले स्थापित गरेको अजेण्डा हो’, माओवादी भातृ संगठन वाइसियललाई प्रशिक्षण दिँदै प्रचण्डले भने, ‘त्यो अजेण्डामा एमाले थिएन। पछि एमालेले स्वीकार गर्दै आएको हुनाले एकताको बेला इतिहासमा ‘रिअलाइजेशन’ गर्ने ठाउँमा एमाले छ।’
प्रचण्डले पार्टीको नेतृत्व विचार र अहिलेको राजनीतिक अजेण्डाको आधारमा हुनुपर्ने समेत बताएको माओवादी नेता मणी थापाले जानकारी दिए।
प्रशिक्षणमा वाइसियलका नेताहरूले झुकेर एकता प्रक्रियामा नलाग्न प्रचण्डलाई सुझाव दिएका थिए।
जवाफमा प्रचण्डले ‘झुकेर एकता नहुने’ बताए। ‘हाम्रो इतिहास झुकेको इतिहास हैन। विद्रोही इतिहास हो’, प्रचण्डले भने, ‘जनयुद्ध र जनआन्दोलनको विचार र राजनीति छाडेर एकता हुँदैन।’
प्रचण्डले एकता सिद्धान्तका आधारमा हुने उल्लेख गर्दै संख्याको आधारमा नहुने तर्क गरे। ‘विचार, राजनीति, इतिहास र आन्दोलनको मुल्याङ्कनको आधारमा एकता सम्पन्न हुन्छ’, प्रचण्डको भनाई थियो।