नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वीपी संग्रहालय सुन्दरीजलमा एकै समयमा दुई वटा फरक-फरक कार्यक्रम गर्ने तयारी गरेको छ।
नेविसंघ सभापति नैनसिंह महरले स्ववियू सभापति एवं पदाधिकारीको एक दिने प्रशिक्षण कार्यक्रम तय गरेपछि नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले समूहले पनि सुन्दरीजलमै बुधबार १२ औं महाधिवेशनलाई विधान र नियमावली सम्वन्धमा छलफल कार्यक्रम राखेका हुन्।
सभापति महरले विधान विपरीत काम गरेको आरोप लगाउँदै महामन्त्री काफ्ले समूहले समानान्तर नेविसंघ चलाउँदै आएको छ। पार्टी सभापति शेरबहादुर देउवा निकट सभापति महरले विधान विपरीत पदाधिकारी र आमन्त्रित सदस्य मनोनित गरेको आरोप लगाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका महामन्त्री काफ्ले समूहले विरोध गर्दै आएका छन्।
सुन्दरीजल परिसरभित्र सभापति महर समूहले कार्यक्रम गर्न मञ्च तयार गरेको छ। यस्तै महामन्त्री काफ्ले समूहले सुन्दरीजल परिसर बाहिर मञ्च तथा माइक तयार गरिसकेका छन्। यी दुई मञ्चबीचको दुरी २० मिटर छ।
एउटा मञ्चमा गरेको भाषणले अर्का मञ्चको कार्यक्रमलाई अवरोध गर्ने भए पनि दुवै समूहले कार्यक्रम गर्ने अन्तिम तयारी गरेका छन्।
दुवै समूहले बिहान ८ बजेदेखि कार्यक्रम गर्ने तय गरे पनि मध्यान्हसम्म कार्यक्रम सुरु भएको छैन। कार्यक्रमस्थल पुगेका नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले दुवै कार्यक्रम निर्धारित समयमा सुरु नभएको बताए।
नेविसंघले एकै ठाउँमा दुई वटा कार्यक्रम गर्न लागेपछि सभापति शेरबहादुर देउवाले एउटै मञ्चमा कार्यक्रम गर्न निर्देशन दिए पनि नेविसंघले नमानेको स्रोतको दाबी छ।
सभापति महरले आयोजना गरेको कार्यक्रममा देउवा प्रमुख अतिथि रहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल विशिष्ठ अतिथि बनाइएको छ। तर महामन्त्री काफ्ले समूहले तय गरेको कार्यक्रमको प्रमुख अतिथि नेता पौडेल छन्, सभापति देउवालाई बोलाइएको छैन। कार्यक्रमलाई कांग्रेस पदाधिकारी तथा नेविसंघ नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ।