भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दनका लागि काठमाडौं महानगरको तयारी अन्तिम चरणमा पुगेको छ।
मोदी काठमाडौं रहँदा आवागमन गरिने सडकको भौतिक अवस्था, स्वागतद्वार निर्माण र सरसफाइको काम पुरा हुन लागेको प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
‘तयारीको काम करिब-करिब अन्तिम चरणमा पुगेको छ,’ प्रवक्ता कार्कीले भने, ‘हामीले अहिलेसम्म राष्ट्रिय सभागृह मर्मतसम्भार, रगंरोगन गरिसकेका छौं। १० मध्ये ८ स्थानमा स्वागतद्वार निर्माण गरिसकेका छौं। केही मुख्य सडकहरू पखाल्ने काम बाँकी रहेका छन्।’
महानगरले प्रधानमन्त्री मोदीलाई स्वागत गर्नका लागि सिनामंगल, बानेश्वर, चाबहिल, चुच्चेपाटी, जमल लगायतका क्षेत्रमा स्वागतद्वार निर्माण गरिसकेको छ। महानगरले १८ उपसमिति बनाएर क्षेत्रगत कामको बाँडफाँट गरेको थियो।
प्रधानमन्त्री मोदी वैशाख २८ गते नेपाल आउँदै छन्। वैशाख २९ गते दिउँसो ३ बजे महानगरपालिकाले प्रधानमन्त्री मोदीलाई उपहारका साथ नागरिक अभिनन्दन कार्यक्रम रहेको प्रवक्ता कार्कीले बताए।