प्रदेश नम्बर दुई मुख्यमन्त्री लालबाबु राउतले विभेदकारी संविधानविरूद्ध आफूहरूको संघर्ष अझै जारी रहेको बताएका छन्।
नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले राज्यको विभेदकारी नीतिले मधेस पछाडि परेको बताए।
‘अब म तपाईंको ध्यान प्रदेश नम्बर २ मा आकर्षित गर्छु, राज्यद्वारा मधेसीप्रति जारी विभेदकारी नीति र पूर्वाग्रह र विद्वेषपूर्ण मानसिकताका कारणले नै मधेसका मानिसहरू तुलनात्मक रूपमा अत्याधिक गरीबी, बेरोजगारी, अभावग्रस्त, शोषित एंव उत्पीडित, जीवन जिउन विवश छन्,’ हिन्दीमा सम्बोधन गरेका मुख्यमन्त्री राउतले भने, ‘मधेस विकासको मामिला काफी पछाडि परेको छ। विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि हाम्रो संघर्ष आज पनि जारी छ।’
राउतले संघीय समाजवादी फोरमका नेता हुन्। २०७२ मा संविधान जारी भएपछि फोरम लगायत मधेसवादी दलले संविधानको विरोध गर्दै सीमा नाका अवरोध गरेका थिए।
मुख्यमन्त्री राउतले संविधान विभेदकारी भएको भनेर बोले पनि मोदीले यसबारे आफ्नो सम्बोधनमा केही उल्लेख गरेनन्। उनले एक दुईपटक मुख्यमन्त्रीलाई सम्बोधन गरेका थिए तर संविधानका बारे भने एक शब्द पनि बोलेनन्।