विवेकशील साझा पार्टीका प्रदेश ५ का संयोजक अनुपमान सैंजुसहित एक दर्जन नेता-कार्यकर्तालार्इ प्रहरीले पक्राउ गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार राखिएको ब्यानर प्रहरीले च्यातेर हटाएको विरोध गर्दै प्रदर्शनमा उत्रिएका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
बुटवलको पुष्पलाल पार्कमा प्रदर्शनमा संलग्न विवेकशील साझा पार्टीका ५ नम्बर प्रदेश संयोजक अनुपमान सैंजू र रूपन्देही जिल्ला संयोजक हरिकृष्ण अधिकारीसहित १ दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
प्रदर्शनकारीले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएका छैनौं’ लेखिएका ब्यानर र प्लेकार्डहरु बोकेका थिए । तर ती ब्यानेर प्रहरीले खोसेर लगेका छन्। ट्राफिक चोकदेखि पुष्पलाल पार्कसम्म भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो।
केन्द्रीय कार्यालयमा पनि शुक्रबार सोही नारा अंकित कालो ब्यानर टाँगिएको थियो। तर, सो ब्यानर प्रहरीले खोसेपछि केन्द्रीय कार्यलयमा पार्टीका शीर्ष नेताकै सहभागितामा बेलुनमा उक्त नारा टाँगेर उडाइएका थिए।