भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंलाई रेल्वेबाट भारतसँग जोड्ने कामको डिपिआर अगाडि बढाएको बताएका छन्।
मोदीको सम्मानमा काठमाडौं महानगरपालिकाले शनिबार राजधानीमा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै मोदीले रेल्वेबाट भारतसँग जोड्ने कामको डिपिआर अगाडि बढाइएकोले उनले छिट्टै नेपाल भारत रेलमार्गमा जोडिने बताए।
‘काम रेल्वे निर्माण होस् वा सडक निर्माण वा हाइड्रो या ट्रान्समिसन लाइन। तेल पाइपाललाइन तथा नेपाल र भारतको सांस्कृतिक र जन स्तरको तागत दिने काम होस्। तपाइहरुको सबै आवश्यकतामा हामी साथ चल्छौँ,’ उनले भने।
कार्यक्रममा मोदीले नेपाल, नेपाली र काठमाडौं सहरको प्रशंसा गर्दै करिब २५ मिनेट सम्बोधन गरेका उनले काठमाडौं सहरको कला, संस्कृति र रहनसहनको लामो व्याख्या गरेका हुन्।
'मलाई काठमाडौं र नेपालले सधैं आकर्षित गर्छ किनकि यो सहर जति गहन छ, उति नै गतिमान छ', मोदीले भने, 'काठमाडौं हिमालयको काखमा बसेको एक अनमोल रत्न हो।'
उनले अर्को पटक नेपाल आउँदा बुद्धको जन्मभूमि लुम्बिनी पुग्ने बताए। 'यसपटकको भ्रमणमा जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्ने अवसर पाएँ। अब जहिले नेपाल यात्राको अवसर मिल्छ, म समय निकालेर बुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम अवश्य बनाउँछु', मोदीले भने।
प्रधानमन्त्री मोदीले नेपालले एक वर्षभित्र तीन तहको निर्वाचन सकेर विश्वमै उदाहरणीय काम गरेको भन्दै नेपालले सुरु गरेको समृद्धिको आधार सगरमाथाको बेस क्यम्प पुगेको टिप्पणी गरे।
उनले सगरमाथा चढ्नका लागि जसरी शेर्पाहरुको साथ र सहयोग रहने गर्छ त्यसैगरी नेपालको विकासमा भारतले शेर्पाको काम गर्न तयार रहेको बताए।
‘पर्वतारोहीलाई जसरी सगरमाथा चढ्न नेपालका शेर्पाको साथ मिल्छ। नेपालको विकासका लागि भारत शेर्पाको काम गर्न तयार छ,’ उनले भने।