भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा आफूहरूले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले अनावश्यक बल र गैर कानुनी काम गरेको साझा विवेकशिल पार्टीले जनाएको छ। मोदीको नेपाल भ्रमणको दोस्रो दिन सरकारले प्रदेश न ५ को राजधानी बुटवलमा शान्तिपूर्ण प्रदर्शनमा उत्रेका आफ्ना नेता कार्यकर्तालाई प्रक्राउ गरेर नियन्त्रणमा लिने सरकारी रवैयाको साझा विकेशिल पार्टीले विरोध गरेको छ।
'मोदीजी तपाईंलाई स्वागत गर्छौं, तर नाकाबन्दी भूल्दैनौ' लेखिएका प्लेकार्ड बोकेर बुटवलको सडकपेटीमा प्रदर्शनमा उत्रिएका सो पार्टीका ८ जनालाई प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको थियो।
प्रहरीले पाँच नम्बर प्रदेश संयोजक अनुपमान सैंजुसहित हरिकृष्ण अधिकारी, सुबास लामिछाने, निलम अधिकारी, अनिल काफ्ले, मीन तिवारी, अर्जुन गिरि र बिष्णु मिश्र गरी ८ जना प्रहरी हिरासतमा लगायतका ८ जनालाई केन्द्रको आदेश भन्दै नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनीहरूलाई मोदी भारततर्फ उडे लगत्तै पार्टीका एक सदस्यको जिम्मा लगाउँदै रिहा गरिएको छ।
सेतोपाटीसँग कुरा गर्दै प्रदेशका पार्टी प्रमूख सैजुले आफूहरूलाई सडक पेटीमा शान्तिपूर्ण तरिकाले भद्र प्रदर्शन गरेको अवस्थामा प्रहरीले प्ले कार्ड खोस्दै नियन्त्रणमा लिनु संविधान प्रदत्त अधिकारको हनन भएको बताए।
सो प्रदर्शनमा पार्टीका करिब ४० जना सहभागी थिए।
सैंजुले विचार राख्न पाउने अधिकारमाथी तानाशाही लादिएको आरोप लगाए।
यस्तै सो पार्टीका संयोजमध्येका एक रविन्द्र मिश्रले पनि सरकारको कदमको आलोचना गरेका छन्।
'काठमाडौंमा त ल ठीक छ, शान्ति सुरक्षामा खलल पर्छ भन्ने कुरा भयो तर प्रदेश नं पाँचमा गरिएको हस्तक्षेपको गर्नुको कारण सरकारसँग के छ?', उनले सेतोपाटीसँग भने, 'सरकारले हिजो पनि काठमाडौंमा हाम्रो पार्टी कार्यलयमा गैरकानुनीरूपमा प्रवेश गरेर हामीले राखेको ब्यानर च्यात्ने काम गरेको छ, जून संविधान अनुसार गैरकानुनी छ। कुनै पनि राजनीतिक पार्टीको कार्यालयमा बिना पूर्जी पसेर यस्तो गर्न कानुनले दिदैंन।'
सरकारका यस्ता कार्यले लोकतान्त्रिक अभ्यासको सम्मान नगरेको उनको भनाइ छ ।
विकेकशिल साझा पार्टीले आज देशैभर मोदी र आफूहरूप्रति सरकारले देखाएको रवैयाको विरोध गरेका छन्।
(तस्वीर: रविन्द्र मिश्रको फेसबुक पेजबाट)