प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार आउन पत्रकारहरुलाई निम्तो दिएका छन्।
एमाले भातृ संगठन युवा संघको स्थापना दिवसको अवसरमा आयोजति कार्यक्रममा अध्यक्ष ओलीले एकता प्रक्रिया अगाडि बढेको दावी समेत गरे। उनले बुधबार एकताको विषयमा छलफलका लागि बैठक बस्ने समेत बताए। तर त्यो बैठक दुई दलको एकताका लागि गठित एकता संयोजन समितिको भए नभएको खुलाएनन्।
'हामी दुई/तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ', ओलीले भने, 'पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ।'
आजै नेकपा एमालेका अर्का नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी एकता संयोजन समितिको बैठक डाक्न आग्रह गरेका थिए। नेता नेपालले प्रधानमन्त्री ओलीसँग समेत एकता प्रक्रिया अड्किएको विषयमा छलफल गरेका थिए।
नेता नेपालले नेताहरुसँगको भेटपछि एकता प्रक्रिया निष्कर्ष उन्मुख रहेको निकटस्थहरुमाझ सार्वजनिक गरेका थिए। एमाले र माओवादी केन्द्रको एकता प्रक्रियामा खटपटको चर्चाबीच प्रधानमन्त्री ओलीले केही दिन भित्रै मिती आउने बताएका हुन्।
जेठ ७ गते संसदमा सरकारको नीति तथा कार्यक्रम पेश हुन अघि पार्टी एकताको मिति घोषणाको तयारी दुवै दलले गरेका हुन्। नेकपा एमालेले जेठ ३ गते मदन आश्रित स्मृती दिवसको कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत निम्तो दिएको छ। एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा हुने कार्यक्रममा प्रधानमन्त्री ओली र प्रचण्डले सम्बोधन गर्नेछन्।
राष्ट्रिय सभामा भने अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफको रुपमा कुनैपनि दिन एकता हुन सक्ने दावी गरे।
'दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ', ओलीले भने, 'हामी एकताको तयारी गर्दैछौँ ।'
प्रधानमन्त्री ओलीले पार्टी एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय स्वाधीनताका लागि देशव्यापी अभियान सञ्चालन गर्ने समेत बताए। उनले नीति तथा कार्यक्रम र बजेटमा चुनावी घोषणापत्रअनुसार समृद्धि र न्यायपूर्ण समाज निर्माणको विषय समेट्ने उल्लेख गरे।