प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास वालुवाटारमा बिहान १० देखि १२ बजेसम्म भएको भेटवार्तामा पार्टी एकताका बारे छलफल भएको छ।
दुई नेताले बिहीबार बिहान १० बजे एकता संयोजन समितिको बैठक राख्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दियो। अध्यक्षको भेटपछि दुबै पार्टीले एकताबारे छलफल गर्न पार्टीका आन्तरिक बैठक डाकेका छन्।
एमालेले बुधबार दिउँसो ४ बजे स्थायी समितिको बैठक बोलाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एकताबारे छलफल हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।
माओवादी केन्द्रले पनि ४ बजे नै केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ।
अध्यक्ष दाहाल निवास खुमलटारमा हुने बैठकमा पनि एकताका विषयमा छलफल हुनेछ।