प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई राष्ट्रिय सभा गृह गइराख्न निर्देशन दिएका छन्।
२५ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा बिहीबार बिहान आयोजित कार्यक्रममा बोल्दै ओलीले आजै पार्टी एकताको घोषणा हुने भन्दै सिट बुक गर्न सभागृह गइराख्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन्।
‘साथीहरूलाई बाहिर पर्याप्त ठाउँ त हुँदैन। बाहिर पाल कति राखिन्छ? तर तीन बजे राष्ट्रिय सभागृहमा पुगिराख्दा हुन्छ। चउरमै बसे हुन्छ,’ ओलीले भने।
यो कार्यक्रम पछि प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान १० बजे पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ। बैठकमा दुई अध्यक्षबीच सहमति भइसकेको एकतासम्बन्धी राजनीतिक र सांगठनिक प्रतिवेदनलाई संयोजन समितिले अनुमोदन गर्नेछ । र, दुवै पार्टी विघटन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ गठनको निर्णय गर्नेछ। त्यसपछि एमाले केन्द्रीय कमिटी बैठक र माओवादी सचिवालय बैठक बस्नेछ।
बैठकमा पार्टी एकता संयोजन समितिको निर्णय अनुमोदन गर्दै दुवै पार्टीका बैठकले पार्टी विघटन गरी एकीकरणको निर्णय गर्नेछन् । त्यसपछि दुबै पार्टीको संयुक्त बैठक बस्नेछ। बैठकमा दुबै पार्टीका नेताहरू सहभागी हुनेछन्।
त्यसपछि दिउँसो ४ बजे एकता संयोजन समिति र दुवै पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयलाई एकीकरणको निर्णयसहित ‘नेपाल कम्युनिस्ट पार्टी’का नाममा पार्टी दर्ता र चुनाव चिन्ह सूर्य राखेर निर्वाचन आयोगलाई पत्राचार गर्नेछन्।
त्यसपछि नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट साँझ राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलन गरी पार्टी एकीकरणको औपचारिक घोषणा गरिने कार्यक्रम तय भएको छ।
आजको कार्यक्रममा बोल्दै प्रचण्डले मदन भण्डारी अवसान भएकै दिन आजै पार्टी एकता गरौं भनेर भनेको भन्दै आफूलाई गर्व लागेको बताएका छन्।