विवेकशील साझा पार्टीले प्रदेश नं ३ को संयोजकमा समिक्षा बाँस्कोटालाई नियुक्त गरेको छ।
गत निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवारसमेत रहेकी कानुनकर्मी तथा व्यवसायी बास्कोटालाई शुक्रबार पार्टीले संयोजकको जिम्मेवारी दिएको हो।
३४ वर्षीया बास्कोटाले काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाको सेण्ट जन्स विश्वविद्यालयबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन्। स्नातकोत्तरपछि 'डिन्स फेलो' मनोनीत भएर केही समय अमेरिकामैं काम गरी २०६७ सालमा नेपाल फर्किएकी बास्कोटाले त्यसपछिका वर्षहरू प्राध्यापन, कानुनी अभ्यास, पारिवारिक व्यवसाय तथा परोपकारी गतिविधिमा बिताएकी छन्।
पारिवारिक पृष्ठभूमीले गर्दा राजनीतिक माहौलमा हुर्किने अवसर पाएकि बाँस्कोटा राष्ट्रलाई बृहत्तर रूपमा योगदान पुर्याउने सबैभन्दा सशक्त माध्यम इमानदार राजनीति नै हो भन्नेमा विश्वास राख्छिन्।
गत निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं १ ‘क’ को प्रदेशसभाको उमेदवार बनेर २७ प्रतिशत मत ल्याएकी उनले सम्मानजनक तेस्रो स्थान हासिल गरेकी थिइन्।