बिहीबार गठन भएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार धुम्बाराही पुगे। दाहाललाई साथ लिएर गएका थिए पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली।
२०७२ सालको भूकम्पपछि नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको धुम्बाराहीमा दाहाल पहिलो पटक पुगेका हुन्। दाहाल पुग्नुअघि नै नेकपा एमाले केन्द्रीय कार्यालय लेखिएको बोर्ड परिवर्तन गरिएको थियो।
ओली र दाहाललाई पार्टी महासचिव विष्णु पौडेलले पुष्पगुच्छा दिएर स्वागत गरे। लगत्तै प्रचण्डलाई ओलीले पनि हातमा पुष्पगुच्छा दिएर स्वागत गरे।
नेकपा नेता एवम् तत्कालीन एमालेको कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दाहाल र ओलीलाई कार्यालयका कोठा देखाए।
प्रधानमन्त्री ओलीले दाहाललाई आफ्नो कार्यकक्ष पुर्याए। सँगै गएका कृष्णगोपाल श्रेष्ठले आगन्तुकका लागि राखिएको कुर्सी उचाले। अनि टेबलसँगै मिलाए।
दाहाल र ओलीले एउटै टेबलमा दुई कुर्सी राखेर अध्यक्षता गरे।
[caption id="attachment_159324" align="aligncenter" width="720"]
फोटो : नेपाल कम्युनिष्ट पार्टीको फेसबुक पेजबाट।[/caption]
नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले धुम्बाराहीमा दाहाललाई स्वागत गरेका थिए। वामदेव गौतमले 'स्वागत छ करमरेड' भन्दा दाहाल मुस्कुराए। नेता श्रेष्ठले कार्यालयको ब्रिफिङ गरे। बैठक कक्ष, पत्रकार सम्मेलन गर्ने हल र नेताहरुको कार्यकक्ष दुवै अध्यक्षले एकसाथ अवलोकन गरे। सँगसँगै केन्द्रीय कार्यालयका नेताहरु माधवकुमार नेपाल, इश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल पनि अवलोकनमा जुटे।
धुम्बाराहीमा रहेको तत्कालिन एमालेको वा पेरिसडाँडामा रहेको तत्कालिन नेकपा माओवादीको मध्ये कुनलाई पार्टी कार्यालयका प्रयोग गर्ने भन्ने विषयमा सहमति जुटिसकेको छैन।
निर्णय गर्नु अघि दुवै अध्यक्ष र केन्द्रीय कार्यालयका सदस्यहरुले कार्यालय भ्रमण गरेका हुन्। नेकपामा नेता कृष्ण गोपाल श्रेष्ठका अनुसार नेताहरुले कार्यालयको भौतिक अवस्थाबारे सोधपुछ गरेका थिए।
'लेटरप्याड, छाप र साइनबोर्ड लगायतका व्यवस्थापनका लागि कार्यालयको ठाउँ कहाँ लेख्ने भन्ने टुङ्गो लागउनुपर्ने भएकाले छिट्टै पार्टी कार्यालय तोक्ने विषयमा उहाँहरु सहमत हुनुहुन्छ', श्रेष्ठले भने, 'उहाँहरुले भौतिक अवस्था बुझ्नुभयो।'
दुवै अध्यक्षले पार्टी कार्यालयको भौतिक अवस्था बुझेपछि भवन बाहिर आएर फोटो खिचाएका थिए। धुम्बाराहीको कार्यालय परिसरमा सानो आकारको धरहरा अगाडि उभिएर फोटो खिचाए। नेताहरुले कुनै प्रतिक्रिया भने दिएनन्।
लगत्तै नेताहरु तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको कार्यालय तर्फ लागे।