नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पेरिसडाँडा स्थित तत्कालिन नेकपा माओवादीको कार्यालयमा रहेको जनयुद्धका सहिदहरुको सम्झनामा स्थापति प्रतिमामा माल्यार्पण गरेका छन्।
धुम्बाराहीमा रहेको तत्काकालिन एमालेको कार्यालय अवलोकन पछि ओलीलाई लिएर नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष प्रचण्ड पेरिसडाँडा पुगेका थिए। दुई पार्टीका कार्यालय मध्ये कुनलाई एकीकृत पार्टीको कार्यालय बनाउने भन्ने निर्णय लिनु अघि नेताहरुले कार्यालयको अवलोकन गरेका हुन्।
ओलीसँगै नेकपाका नेताहरु माधव नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहाुदर थापा 'बादल', महासचिव विष्णु पौडेल पनि पेरिसडाँडा पुगेका थिए।
प्रचण्डसँगै नेताहरुले माओवादी केन्द्रीय कार्यलयका कोठा र कार्यकक्षहरुको अवलोकन गरेका थिए। शान्ति प्रक्रियामा आए यता माओवादीले पेरिसडाँडामा रहेको भवनलाई केन्द्रीय कार्यालयको रुपमा प्रयोग गर्दै आएको थियो। त्यसअघि माओवादीको बुद्धनगरमा कार्यालय रहेको थियो। अहिले उक्त कार्यालय मोहन बैद्य नेतृत्वको माओवादीले प्रयोग गर्ने गरेको छ।
नेताहरुले दुवै कार्यालयको अवलोकन पछि अब कुन कार्यालयलाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्ने भन्ने निर्णय लिनेछन्।