नयाँ शक्ति पार्टी काठमाडौंकी संयोजक मानुषी यमी भट्टराईले पार्टी संयोजकसमेत रहेका बाबु बाबुराम भट्टराईलाई गोरखामा घर बनाइदिने भएकी छन्।
ज्योर्ति चौतारानजिकै पाखो बारीमा भूकम्प प्रतिरोधी दुई कोठे घर बनाउन लागिएको मानुषीले सेतोपाटीलाई जानकारी दिइन्।
भट्टराईको पुर्ख्यौली थलो खोप्लाङमा बन्ने घरको अहिले मानुषीकी आमा हिसिला यमी नक्सा बनाइरहेकी छन्।
अंशवण्डा गर्दा खोप्लाङस्थित बेलबासको दुई तले घर बाबुरामको भागमा परेको थियो। उनले त्यो घर मानुषीका नाममा गरिदिएका थिए। ०७२ वैशाखको भूकम्पले घरमा क्षति पुर्याएको थियो।
भूकम्प प्रभावितलाई सरकारले नयाँ घर बनाउन तीन लाख अनुदान दिन्छ। मानुषी पनि अनुदान पाउने सूची छन्। पहिलो किस्ताको ५० हजार आफ्नो बैंक खातामा आइसकेको उनले बताइन्।
'सरकारले भूकम्पपीडितलाई दिने अनुदानले बाआमाका लागि घर बनाउने निधो गरेँ' मानुषीले सेतोपाटीसँग भनिन्, 'जुन ठाउँबाट बा जनप्रतिनिधि हुनुहुन्छ त्यहीँ बस्ने एउटा घर त चाहियो नि।'
बाबुराम गोरखा-२ बाट निर्वाचित भएका हुन्।
घर बनाएर बाआमालाई उपहार दिने तयारी आफ्नो रहेको उनले बताइन्। पूरानो घर भएको ठाउँमा बस्ती पातलिँदै गएको र छरछिमेक पनि वेशींमा बस्न थालेपछि बेलबास छाडेर जोर्ती चौतारा नजिक घर बनाउन लागिएको मानुषीले बताइन्।
घर बनाउने निधो त भयो तर, वेसीको जग्गा मानुषीको नाममा थिएन। गत बुधबार मालपोत कार्यालय गोरखामा पुगेर बाबुरामले छोरी अस्मिता सिं मानुषी यमी भट्टराईलाई दुई रोपनी जग्गा हालको बकस ‘पछि फिर्ता लिन नमिल्ने’ गरी दिएका हुन्।
बाबुबाटै प्राप्त जग्गामा मानुषीले बाआमा बस्ने घर बनाउन लागेकी हुन्।
मालपोत कार्यालय गोरखाकाअनुसार १७९२ कित्ताको दुई रोपनी १४ आना जग्गामध्ये बाबुरामले दुई रोपनी जग्गा छोरीलाई दिएका हुन्।
बाबुरामको नाममा अब लालपूर्जामा १४ आना जग्गा बाँकी छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुरामको परिवार शान्ति प्रक्रियापछि राजधानीमा भाडाको घरमा बस्दै आएका छन्।