कर्णाली प्रदेशको दोस्रो अधिवेशन शुक्रबारबाट शुरु हुने भएको छ ।
शुक्रबारबाट शुरु हुने दोस्रो अधिवेशनअन्तरगत पहिलो वैठकका लागि कर्णाली प्रदेशको संसद् सचिवालयको कार्यतालिका तयार पारिसकेको छ ।शुक्रबारको पहिलो वैठकमा सभामुखले प्रदेश प्रमुखबाट प्रदेशसभा सचिवालयलाई अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र संसदमा सुनाउने छन् ।
यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पेश भएको बजेटमाथिको उद्देश्य, नीतिसम्बन्धी पत्र पनि पढेर सुनाईने छ ।
अधिवेशनको पहिलो बैठकमा ‘कर्णाली प्रदेश आकस्मिक कोषसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५’, ‘प्रदेशका महान्यायाधिवक्ताको सेवासुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक–२०७५’, ‘गाउँसभा-नगरसभाको कानुन निर्माणसम्बन्धी विधेयक–२०७५’ र ‘संसद् सञ्चालन नियमावलीको कर्मचारी सेवासम्बन्धी नियमावली–२०७५’ पेश गर्ने कार्यसूची रहेको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।
कर्णाली प्रदेशको पहिलो अधिवेशन गएको वैशाख १८ गते सम्पन्न भएको थियो । पहिलो अधिवेशनअन्तर्गत संसद्का २२ वटा वैठक सम्पन्न भएका थिए ।