नेपाल कम्युनिष्ट पार्टीका सांसद एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले आजकाल आफूले रेल चढेको सपना देख्न थालेको बताएका छन्।
संसदमा सरकारले नीति तथा कार्यक्रम पेश गरेको दिनदेखि सपनामा काठमाडौंबाट लुम्बिनी, काठमाडौंबाट पोखरा, काठमाडौंबाट वीरगञ्ज गएको सपना देख्न थालेको बताए।
'एक जना मित्रले काठमाडौंबाट वीरगञ्ज गएको सपना देख्न थाल्नु भएछ', नेम्वाङले भने, 'म पनि आजकाल काठमाडौं-लुम्बिनी, काठमाडौं-पोखरा, काठमाडौं-वीरगञ्जमात्र होइन दिल्ली हुँदै युरोप पुगेको। काठमाडौं-बेइजिङ पुग्ने सपना देख्न थालेको छु।'
नेम्वाङले सरकारले नीति तथा कार्यक्रमबाट देखेको सपना अब बजेटमा आउनुपर्ने बताए। संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रमको बचाऊ गर्दै नेम्वाङले निर्वाचनको घोषणापत्रको आधारमा तयार गरिएको बताए।
'हामीले सपना देखेका छौं। सरकारले सपना देखेको छ। अरुबेला मित्रहरूको सपना पत्याउँथे। यसपटक हाम्रो सपना पत्याएका छन्', नेम्वाङले भने।
नेम्वाङले पानी जहाज चढेको सपना समेत देख्न थालेको बताए।
'कोशी हुँदै गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु। यस्तो सपना देख्नु अचम्म हो र सभामुख महोदय', नेम्वाङले भने, 'म निम्ता गर्छु मेरा मित्र मिनेन्द्रलाई। तपाईंकै मोरङ छेव सुनसरीबाट पानीजहाज चढेर हामी किन नजाने?'
नेम्वाङले सबैलाई सपना देख्न आग्रहसमेत गरे। नेम्वाङले आग्रह गरिरहँदा संसदमा रिजाल भने हाँसिरहेका थिए।