जेठ १५ गतेको एघारौं गणतन्त्र दिवसको अवसरमा प्रदेश नम्बर पाँच सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ।
सार्वजनिक बिदा धेरै भएको भन्दै संघीय सरकारले गणतन्त्र दिवसको बिदा कटौती गरेको थियो।
तर, पाँच नम्बर प्रदेश सरकारले भने नागरिकको त्याग र बलिदानीबाट गणतन्त्र स्थापना भएकोले यसलाई विशेष रूपमा मनाउन भन्दै बिदा दिने निर्णय गरेको हो।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव प्रेम प्रसाद भट्टराईले मन्त्रिपरिषद् बैठकबाट पछि अनुमोदन हुने गरी मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लामा बिदा दिने निर्णय गरेको जानकारी दिए।
‘केन्द्रीय सरकारले तय गरेका बिदा बाहेक प्रदेश सरकारले बिदा दिन सक्ने अधिकार प्रयोग गरी गणतन्त्र दिवसको स्वामित्व बोध गर्दै बिदा दिने निर्णय गरेको हो,’ सचिव भट्टराईले भने।
‘सरकारले गणतन्त्र दिवसको बिदा दिए पनि छुट्टी मनाउन नभइ पर्व मनाउन दिएकोले सरकारले आयोजना गरेका कार्यक्रममा भने कर्मचारीहरू उपस्थित हुनुपर्ने छ।’
पाँच नम्बर प्रदेश सरकारले तीन दिनसम्म विभिन्न रचनात्मक कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ।
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा प्रदेशसभाका सभामुख, उपसभामुख, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रमुख सचिव, सबै मन्त्रालयका सचिव तथा प्रदेशका सबै जिल्ला समन्वय समितिका प्रमुख लगायतको २ सय ५१ सदस्यीय गणतन्त्र मुल समारोह समिति गठन गरी पहिलो पटक मनाउन गइरहेको गणतन्त्र दिवसको तयारी गरेको जनाएको छ।
सरकारले दिवसलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न मन्त्रालय तथा स्थानीय तहहरूलाई जिम्मेवारी समेत बाँडफाँट गरेको छ।
दिवसको अवसरमा जेठ १४ गतेदेखि १६ गतेसम्म प्रदेशका सबै सरकारी कार्यालय, संघसंस्था तथा घरघरमा दिपावली गर्ने, १४ गते रुपन्देहीको मर्चवारमा स्वास्थ्य शिविर गर्ने जनाएको छ।
१५ गते बिहान साढे सात बजे बुटवल बसपार्कबाट बुटवलमण्डपमा रहेको गणतन्त्र पार्कसम्म प्रभातफेरी निकालिने जनाएको छ। प्रभातफेरी पछि आयोजित सभालाई मुख्यमन्त्री पाखेरेल र प्रदेश प्रमुख उमाकान्त झाले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
त्यसैगरी, १६ गते प्रहरी तालिम केन्द्रमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको छ। उक्त भलिबल प्रतियोगिता मुख्यमन्त्री र प्रमुख सचिवको समूहबीच हुने बताइएको छ।
त्यस्तै, १६ गते नै लुम्बिनीमा फलफूलका विरुवा लगाइने छ भने पाल्पाको दोभानमा रहेको चुनुपार्कमा बहुउपयोगी जातका बिरुवा लगाउने जनाएको छ।
प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा वृद्धआश्रम, बालआश्रम, अस्पताल र कारागारमा फलफूल वितरण, १२ वटै जिल्लामा रक्तदान, स्थानीय तहहरूमा मैत्रीपूर्ण खेल आयोजना, प्रभातफेरी, म र मेरो गणतन्त्र नामक साहित्यिक कार्यक्रम, सरसफाइ लगायतका कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहलाई निर्देशन समेत दिएको सचिव भट्टराईले जानकारी दिए।