प्रदेश २ मा सत्ता समिकरण फेरबदलको संकेत देखिएको छ। प्रदेश २ मा गठबन्धन बनाएका संघीय समाजवादी फोरम फोरम र राष्ट्रिय जनता पार्टी नेपालबीचको दुरी बढेपछि समिकरण समेत फेरबदल हुने अवस्था श्रृजना भएको हो।
प्रदेश २ का सभामुख सरोजकुमार यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता नेपाली कांग्रेसलाई दिएको विषयम राजपा र फोरमबीच मतभेद भएको हो। संघीय फोरमले तत्कालिन नेकपा एमालेलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुपर्ने जनाएको थियो। तर सभामुख यादवले संसदीय अभ्यास र संघीय संसदको अभ्यास अनुरुप नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएका थिए।
संघीय संसदमा सरकारको समर्थन गर्ने दल प्रमुख प्रतिपक्षी हुदैँनन्। प्रदेश २ मा तत्कालिन एमाले र माओवादीले मुख्यमन्त्री चुनावका बेला सत्तारुढ फोरमका उम्मेद्वार लालबाबु राउतलाई समर्थन गरेका थिए। कांग्रेस भने विपक्षमा खडा भएको थियो।
तर राजपा र फोरमको विवाद भने बढ्दो छ। ‘यो सभामुखको बदमासी हो’, फोरम अध्यक्ष उपेन्द्र यादवले सेतोपाटीसँग भने, ‘सभामुखले प्रमुख प्रतिपक्षी भनेर नेकपालाई नदिएर तेश्रो पार्टीलाई मान्यता दिएबाट उत्पन्न समस्या हो।’
त्यसो त केन्द्रमा संघीय समाजवादी फोरम सरकारमा मिसिने सहमति भएको छ। त्यसको असर समेत प्रदेशमा देखिने भएको छ। केन्द्रमा फोरम सरकारमा सहभागि भए। प्रदेश २ मा समेत राजपा सरकारबाट हटेर नेकपा सरकारमा भित्रने सम्भावना बढेर गएको छ।
‘यो राष्ट्रिय स्तरका महत्वपूर्ण सहमति हो’, नेकपाका महासचिव विष्णु पौडेलले सेतोपाटीसँग भने, ‘यसले राष्ट्रिय राजनीति, मुलुक र प्रदेशलाई पनि प्रभाव पार्छ।‘
प्रदेश २ को मन्त्रिपरिषद्मा राजपाका तर्फबाट अर्थमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास मन्त्री नवलकिशोर शाह र उद्योग पर्यटन तथा वन मन्त्री रामनरेश राय सहभागि छन्। मुख्यमन्त्री फोरमबाट छन् भने सभामुख राजपाका हुन्।
राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले प्रदेश २ को गठबन्धन अन्त्य भैनसकेको सेतोपाटीलाई बताए।
‘प्रदेश २ मा सँगै आन्दोलन गरेको र चुनाव लडेको भएकाले जनताको भावना अनुसार सरकार बनेको हो। अहिलेसम्म गठबन्धन छँदैछ’, राजपा अध्यक्ष मण्डलका नेता महतोले भने, ‘फोरमको गतिविधी, क्रियाकलाप र व्यवहारबाट प्रदेश २ को गठबन्धनको भविष्य निर्धारण हुन्छ।
उनले केन्द्रमा फोरम र नेकपाबीच भएको समझदारीले गठबन्धनमा शंका बढेको स्वीकारे।
‘दुँनियाले केन्द्रको समझदारीले सम्बन्धमा खरोच आउला कि भनेर शंका गरेको छ’, महतोले भने, ‘हाम्रो तर्फबाट कुनै असमझदारी छैन।‘
उनले सभामुख सरोज यादवको कमद जायज भएको तर्क गरे। नेपाल कम्युनिष्ट पार्टीले सरकारलाई समर्थन गरेको अवस्थामा प्रतिपक्षी दल कांग्रेस हुने निर्णय सहि रहेको उनको भनाई थियो। ‘अब दुई पार्टी एक भएर ठूलो दल पनि बनेका छन्। सरकारलाई समर्थन फिर्ता लिएका छन्। यस्तोमा स्वत: नेकपा प्रतिपक्षी भइहाल्यो’, महतोको भनाई थियो।