हाम्रा वरपर हुने प्राय सभा, वैठकजस्ता कार्यक्रमहरु तोकिएको समयभन्दा केही समय ढिलो नै शुरु हुने परम्परा बसिसकेको छ । त्यहाँ कोहीले ‘किन कार्यक्रम ढिला भयो ?’ भनेर सोधेमा नजिकको व्यक्तिबाट ठट्यौली तरिकाले उत्तर आउने गर्छ, ‘नेपाली समय हो ।’ पछिल्लो समय यही कुरा कर्णाली प्रदेशको संसद्मा लागू हुन थालेको छ ।
कर्णाली प्रदेश संसद्को दोस्रो अधिवेशनको पाँचौँ वैठक बुधवार तोकिएको समयभन्दा ७२ मिनेट ढिलो शुरु भयो । तोकिएको समयभन्दा करिब ४५ मिनेट पछिसम्म पनि वैठक कक्षमा सांसद्हरुका लागि राखिएका अधिकांस कुर्सीहरु खाली नै थिए । त्यपछि पत्रकार र दर्शकहरु बस्नका लागि राखिएका कुर्सीहरु भरिए र वैठकमा उपस्थित हुने सांसद्हरु विस्तारै हलमा प्रवेश गरे ।
१ बजेका लागि तोकिएको वैठकमा सभामुख १ बजेर १२ मिनेटमा उपस्थित भए । त्यपछि वैठक शुरु भयो । ‘माननीय सदस्यहरु कर्णाली प्रदेश संसद्को दोस्रो अधिवेशनको पाँचौँ वैठकको कारबाही शुरु हुन्छ’ सभामुख राजबहादुर शाहीले वैठकका लागि तोकिएको समयभन्दा सवा एक घण्टा ढिलो गरी यो वाक्य बोले ।
कर्णाली प्रदेश संसद्को दोस्रो अधिवेशनको छैठौँ वैठक पनि बिहिबार १ बजेका लागि तोकियो । तर बिहिबार दिउँसो १ बजेर ५५ मिनेटसम्म २९ जना सांसद्हरु मात्र वैठक बस्ने भवनको पर्खालभित्र थिए । त्यसमा पनि २८ जनाले मात्र नाम दर्ता गराएका थिए । छैठौँ वैठक पनि पाँचौ वैठक जसरी २ः१२ मा नै शुरु भयो ।
यी केही वैठकमा प्रत्यक्ष देखिएका दृश्यहरु मात्र हुन् । कर्णाली प्रदेशमा पछिल्ला केही संसद् वैठकहरु तोकिएको समयभन्दा कम्तिमा पनि पौने घण्टा ढिला गरी शुरु हुने गरेका छन् ।
संसद् सचिवालयको लापरवाही र गैरजिम्मेवारीका कारण संसद् वैठक तोकिएको समयभन्दा ढिला शुरु हुने गरेको सांसद् ठम्मर विष्टले आरोप लगाए । ‘पछिल्लो समय संसद् वैठक तोकिएको समयभन्दा ढिला बस्ने गरेको छ ।’ सांसद् विष्टलेTभने, ‘आगामी वैठकहरुमा यो सम्बन्धी कुरा उठाएर यसलाई हामी ट्र्याकमा ल्याउने प्रयत्न गर्छौँ ।’
यसरी बारम्बार संसद् वैठक ढिला गरि शुरु हुनप्रति आफ्नो आपत्ति भएको सांसद् विष्टले बताए । उनी भन्छन्, ‘तोकिएको समयमा वैठक शुरु गर्ने, समयमा सकाउने र सबै आ–आफ्नो काममा जाने वातावरण मिलाउनुपर्छ ।’
‘वैठकमा सहभागी हुन भनी तोकिएको समयभन्दा अगावै गएर बसिन्छ ।’ प्रदेशसभा दस्य रातो कामीले भने, ‘वैठक ढिला भएर सहभागी हुन गएकाहरुलाई कुर्नुपर्ने बाध्यता छ, यो समस्याको अन्तय हुनैपर्छ ।’ यस विषयमा संसद् सचिवालय र सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ ।
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले आन्तरिक तयारीका क्रममा ढिलाई हुने गरेका कारण वैठक तोकिएको समयभन्दा ढिला बस्ने गरेको बताउँछन् । वैठक अघि कार्य व्यवस्था परामर्श समितिको वैठकमार्फत गर्नुपर्ने आन्तरिक तयारीका कारण वैठक ढिला बस्ने गरेको उनको भनाई छ ।
ढिला भएपनि तोकिएको समयभन्दा २ घण्टाभित्रै वैठक बस्नु स्वभाविकै भएको बताउँदै सभामुख शाहीले भने, ‘केही एजेण्डाहरुमा आन्तरिक छलफल गर्नुपर्ने हुन्छ, सचिवालयमा आन्तरिक छलफल गर्दागर्दै वैठक तोकिएको समयभन्दा ढिला शुरु हुन्छ । यो स्वभाविकै पनि हो ।’ तोकिएको समयभन्दा २ घण्टा पछिसम्म वैठक बस्न नसकेमा अर्को सूचना जारी गर्नुपर्ने भन्दै उनले त्यस समयभित्र वैठक बसेमा ढिला स्वभाविकै रुपमा लिनुपर्ने बताए।