संघीय समाजवादी फोरम, नेपाल दुई मन्त्रालयसहित सरकारमा सहभागी हुने टुङ्गो लागेको छ। फोरम अध्यक्षसमेत रहेका उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने टुङ्गो लागेको छ।
त्यसैगरी फोरमका तर्फबाट अर्का मन्त्री मोहम्मद इस्तियाक राई बन्दैछन्। उनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो। नवनियुक्त मन्त्रीहरूले साँझ ५ बजे शितल निवासमा मन्त्रीको सपथ लिनेछन्।
नयाँ मन्त्रीहरुको शपथ ग्रहण आजै दिउँसो ३ बजे हुने भनिएको थियो।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुन नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेको थियो।
सहमतिमा नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए।
सहमतिको पहिलो बुँदामा संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान गरी सम्बोधन गर्ने उल्लेख छ।
दोस्रो बुँदामा भने संघीय समाजवादी फोरम सरकारमा जाने उल्लेख थियो।
संघीय फोरमले यसअघि नै २०७४ फागुन २२ गते सरकारमा जाने निर्णय गरिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फोरमका लागि सहरी विकास र स्वास्थ्य मन्त्रालय खाली राखेको थियो।