अर्थमन्त्री युवराज खतिवडाले बजेटलाई न्यूनटको चाल सम्बन्धी तेस्रो नियमसँग तुलना गरेका छन्।
प्रतिनिधि सभामका बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले आफूले विद्यालयमा न्यूटनको चाल सम्बन्धी नियम पढेको बताए।
‘न्यूनटको तीन सिद्धान्त पढेको थिएँ। पहिलो कुनै गतिहिन वस्तुलाई गति दिनका लागि तेस्रो शक्तिले ठेल्नुपर्छ। अथवा गतिशिल वस्तु शक्ति रोक्नका लागि अर्को शक्ति चाहिन्छ भन्ने छ’, खतिवडाले नियम सुनाए। लगत्तै उनले नियमसँग बजेटलाई तुलना सुरू गरे।
‘चलायमान नभएको अर्थतन्त्रलाई गति दिनका लागि बजेटको आकार र नीति तथ कार्यक्रमबाट अलिकती ठेलेका छौँ’, खतिवडाले भने, ‘धेरै गतिशिल हुन थालेको भ्रष्ट्राचारलाई रोक्न सुशासनको ब्रेक लगाइदिन खोजेका छौँ।’
उनले न्यूटनको नियम बजेटबाट पालना गरेको बताए। खतिवडा यहीँ रोकिएनन्। उनले चाल सम्बन्धि दोस्रो नियमलाई समेत बजेटसँग जोडेर ब्याख्या गरे।
‘दोश्रो नियम, जति ठूलो आकारको बस्तु हुन्छ त्यसलाइ ठेल्ने उती नै शक्ति प्रयोग गर्नुपर्छ’, खतिवडाले भने, ‘संघीयता ठूलो छ। ठूलो संघीयता ठेल्न ठूलो बल गर्नुपर्छ। बल गर्ने भनेको स्रोत संकलनमा जोड गर्ने हो। राजश्व बढाउनै पर्यो।’
उनले संघीयतालाई काम गर्ने बनाउन सबै विकल्प हरेको बताए।
‘संघीयता खर्चिलो छ त्यो हामीलाइ थाहा छ। हामीले ल्याएको हो। धान्नु पनि छ। प्रदेशमा करको दर धेरै छैन। स्थानीय तहमा करको दर बढ्दैछन्’, खतिवडाले भने, ‘नेपाल सरकारको कर प्रणाली परिवर्तन नगरि ‘बिग पुस’ हुनेवाला छैन। ’
उनले बजेटबारे भएको आलोचनालाई पनि आफूले ल्याएको बजेटको प्रतिक्रिया भन्दै चाल सम्बन्धी नियमसँग तुलना गरे।
‘तेस्रो नियम, प्रत्येक क्रियाको उत्रै र विपरित प्रतिक्रिया हुन्छ भनेर पढेको थिएँ’, खतिवडाले भने, ‘सायद अहिले अलि बजेट क्रियाशिल भएर बढी प्रतिक्रिया पाएको हो कि भन्ने लाग्यो। मुलुक अघि बढाउन हामी क्रियाशिल भएकाले प्रतिक्रिया हुनु स्वभाविक हो।‘
यद्यपी आफूले तेस्रो नियम अनुसारको तिखो कुरा नउठाउने बताए। ‘आरोप प्रत्यारोपको श्रृखला यहिँ बन्द गर्नुपर्छ’, खतिवडाले भने।
उनले बजेटमा श्रृजनशिलता नभएको कांग्रेस सांसद गगन थापाको आरोपको समेत खण्डन गरे। खतिवडाभन्दा केही अघि संसदमा बोलेका थापाले धनीलाई बढी कर लगाउने विषयमा कुनै श्रृजनशिलता नभएको टिप्पणी गरेका थिए।
‘एक जना माननीयले यति जान्न त जसले पनि सक्छ भन्नुभयो’, खतिवडाले थापालाई जवाफ फर्काउँदै भने, ‘अर्थ व्यवस्थापन रकेट साइन्स होइन। हामीले कमन सेन्स नै लगाउने कुरा हो। जे सम्भव छ कराधार बढाउनका लागि त्यो गरेका छौँ।’
खतिवडाले बजेट राष्ट्रिय अर्थतन्त्र निर्माणको पक्षमा रहेको दावी समेत गरे।
‘नागरिकलाई उत्पादनसँग जोड्ने कुरा गरेको छ। श्रम सीप क्षमता भएका मानिसहरु रोजगारीसँग जोडिन्छन्। श्रम बजारमा जोडिन नसक्नेलाई राज्यले सुरक्षाको कुरा गरेको छ’, खतिवडाले भने, ‘बाटो बिराएको छैन। दिशाहिन छैन।’
‘कसैले माथि उचाल्नुभयो। कसैले खसाल्नुभयो, कसैले कछुवा गति भन्नुभयो, कसैले केन्द्रमुखी। केहीले संघीयतामुखी भएन भन्नु भएको छ। कसैले अंकमा, कसैले बाँडफाँडमा असन्तुष्टि जनाउनु भएको छ’, खतिवडाले भने, ‘हामीले राजश्व बाँडफाँड सहितको करको अधिकार निक्षेपिकरण भएको समपुरक सहितको बजेट पहिलोपटक ल्याएका विगतको सँग तुलना गरेका छौँ।’
उनले प्रदेश र स्थानीय तहको बजेट आउँदा मुलुकको बजेटको आकार १५ खर्ब पुग्ने बताए। ‘करिब १५ खर्बको बजेट हुन्छ। जसमा ५ खर्ब पूँजिगत खर्च हुन्छ’, खतिवडाले भने, ‘हामीलाई कहिले कहिले अंकले झुक्याउँछ। अब झुक्किनु हुन्न। ती बजेटलाई जोडेपछि मुलुकको बजेट बन्छ। यो संघीय सरकारको बजेट मात्र हेरेर ८ प्रतिशत वृद्धि हेर्यौँ भने गल्ती हुन्छ।’
नेपाली कांग्रेसका सांसद प्रदिप गिरीले बजेट राजनीति शास्त्र भएको भनाईको समेत खतिवडाले जवाफ दिए। गिरीले बजेट राजनीतिशास्त्र भएको र यसमा मानव मुख्य विषय हुनुपर्ने बताएका थिए।
‘गणित बिनाको बजेट हावादारी हुन्छ’, खतिवडाले भने, ‘स्थानीय तहको राजश्व बाँडफाँड तल पठाउने भन्नुहुन्छ। अनि संघको बजेट ठूलो बनाउन भन्नुहुन्छ। ऋण नलिग, राजश्व नउठाउ, बजेट ठूलो बनाउ भन्नुहुन्छ’, खतिवडाले सांसदहरुलाई जवाफ फर्काए, ‘आलोचना सम्भव क्षेत्रमा गरौँ।’
उनले प्रदेशमा संरचना नबनी, क्षमता विकास नगरी, साधन स्रोत नबनी तल पठाउँदा समस्या हुने बताए। ‘२ खर्ब बजेट खर्च भएका छैनन्’, खतिवडाले भने, ‘प्रदेशले कुनै काम कठिन भन्यो भने संघले गर्छ। प्रदेशले सक्षम छौं भन्यो भने संघले दिन्छ।’
उनले संस्थागत करको दर परिवर्तन नभएको आयकरमा पनि जम्मा एक प्रतिशत मात्र वृद्धि भएको बताए। ‘पैतिस थियो, छत्तिस बनाएको हो’, खतिवडाले भने, ‘युरोपियन मुलुकमा ४० प्रतिशत छन्। विकास भएका छन्। निजी क्षेत्रको विकास भएको छ।’
उनले लगानीबोर्ड ऐन परिवर्तन गर्ने, करसँग सम्बन्धि विकृती हटाउने भन्दा किन निजीक्षेत्र हतोत्साही हुने भनेर प्रश्न गरे। ‘कम्युनिष्ट सरकार भएकोमा लगानी आउँदैन भनेर सिद्धान्त राख्ने हो भने चीन, भियतनाम र लाओसमा विदेशी लगानीको मात्रा हेरे हुन्छ’, खतिवडाले भने, ‘सुशासन राम्रो दियो भने हुन्छ।’
प्रधानमन्त्री कार्यालयमा पुनर्निर्माण प्राधिकरणको बजेट राखिएकै कारण प्रधानमन्त्री कार्यालयको बजेट धेरै देखिएको बताए।
उनले कृषिमा ५ प्रतिशत विकास हुँदासमेत आफूले बजेटमा ल्याएको आर्थिक विकासको लक्ष्य पुरा हुने बताए।
‘१२ प्रतिशत उद्योगमा, साढे ८ प्रतिशत सेवा क्षेत्रबाट विकसित गरेर हुन्छ’, खतिवडाले भने, ‘एक प्रतिशत आर्थिक वृद्धि हुँदा ४ लाख रोजगारी श्रृजना हुन्छ। पाँच लाखको लक्ष्य मात्र राखेका छौँ।’
उनले आफूले पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिने क्रममा दिएको जवाफलाई ट्र्यापको रुपमा नअर्थ्याउन आग्रह गरे। ‘अर्थमन्त्रीले म ट्र्यापमा परेँ भनेको होइन’, खतिवडाले भने, ‘अर्थमन्त्री आफैं निर्णय लिन सक्षम छ। ट्र्यापमा पर्दैन।’
उनले सांसदहरुलाई आफू निर्वाचित प्रतिनिधिको रुपमा प्रस्तुत हुँदा तल स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्न आग्रह गरे। कतिपय आयोजना प्रदेशमा गएका कारण सांसदहरुले बजेटमा नभेट्टाएको जवाफ उनको थियो।
आफूले प्रोफेसनल रुपमा बजेटहरु स्थानीय तह र प्रदेशमा विनियोजन गरेकाले विभेदको प्रश्न नगर्न खतिवडाले आव्हान गरे।
‘मधेसको विभेद भनियो। हामी हाम्रो भौलिक अवस्थाका क्षेत्रलाई किन विभेद गर्नुपर्छ’, खतिवडाले प्रश्न गरे, ‘वित्त आयोगका फर्मुलाका आधारमा विनियोजन भएको छ। विभेदको कुरा नगरिदन विन्रम आग्रह गर्छु।’
उनले प्रदेश र स्थानीय तहलाई दिएको रकमलाई दानको रुपमा नबुझ्न आग्रह गरे। ‘संविधानमा अनुदान शब्द लेखेको छ। हस्तान्तरण दिने रकम भनेको हो। दान दिएको रुपमा बुझ्नु हुँदैन’, खतिवडाले भने, ‘प्रचलित व्यवस्था अनुसारको कुरा हो। प्रचलित कानुन बमोजिम भएका व्यवस्था अनुसारका हुन्।’