त्रिभुवन विश्वविद्यालयको उच्च तहका प्राध्यापक, लेक्चरल र विद्यार्थीले थेसिस चोरी गरेको तथ्य बाहिरिएपछि त्रिवि कार्यकारी परिषदले गठन गरेको ५ सदस्यीय छानविन समितिले अधुरो प्रतिवेदन बुझाएको छ।
समितिले अघिल्लो साता उपकुलपति तीर्थ खनियाँलगायत कार्यकारी परिषदलाई प्रतिवेदन बुझाएको हो। प्रतिवेदन बुझ्दै उपकुलपति खनियाँले प्रतिवेदनले समेटेका विषय अध्ययन गरी कार्यकारी परिषदबाट कार्यान्वयनका लागि उपर्युक्त निर्णय गर्ने बताएका छन्।
भूगोल केन्द्रीय विभागका प्राध्यापक तथा छानविन समितिका संयोजक भीम सुवेदीका अनुसार समितिलाई दुई वटा कामको जिम्मेवारी दिइएको थियो।
थेसिस लेख्दा अनियमितता भएकोबारे के कसो भएको हो?छानविन गर्ने, र गुणस्तरीयता कायम गर्न के गर्न सकिन्छ भन्ने।
'हामी मास्टर हौं। अनुसन्धान ब्युरोका मानिस होइनौं। त्यसले गर्दा छानबिन भन्ने विषय त्रिवि कार्यकारी परिषदकै जिम्मा भनेका छौं' छानविन समितिका संयोजक सुवेदीले सेतोपाटीसँग भने, 'व्यक्ति तोकेर तैंले चोरिस् भन्ने हिम्मत हाम्रो रहँदैन। हामी अध्ययन गर्ने टोली हो, छानविन प्रहरी अधिकारीहरुले गर्छन्।'
थेसिस चोरी तथा खरिद बिक्रीसम्बन्धमा समितिले ध्यान दिएको छैन। आउँदा दिनमा गुणस्तरीय थेसिस लेखिनु पर्ने सुझाव भने दिएको छ।
कसले कहाँबाट के के विषय या बुँदाहरु चोरी गरी आफ्नो थेसिसमा समावेश गरेको छ भन्ने पत्ता लगाउन नसकिने र छोटो समयमा अध्ययन गरेर टुंगोमा पुग्न नसकिने निष्कर्षसहित छानविन समितिले प्रतिवेदन बुझाएको छ।
दुई वर्षअघि गठित उक्त समितिले १३ जेठमा त्रिवि कार्यकारी परिषदलाई १२ पेजको प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा सबैभन्दा ठूलो कमजोरी विद्यार्थीले अन्तिम समयमा मात्रै थेसिस गर्ने र विज्ञ स्रोत शिक्षकले विद्यार्थीलाई चिढ्याउन नखोज्दा गुणस्तरहीन थेसिसको थुप्रो त्रिविमा छ।
'कसले कसको थेसिस चोरी गरेको हो भन्ने पत्ता लगाउने कार्य रिस्की हो' उनले भने, 'विगतमा फर्कनेतिर भन्दा भविष्यतिर नै हामी लाग्यौं। अब कसरी थेसिस लेखनी सुधार्ने भन्नेतिर लाग्यौं,' संयोजक सुवेदीले भने।
उनले आफूहरूले विगतमा बढी जोड नदिएको पनि बताए।
'थेसिस अनियमितताका बारेमा हामीले बुझ्ने कोशिस गर्यौं। थेसिससम्बन्धीका जे कुराहरु मिडियामा आए ती झुठा हुन् भन्न सक्दैनौं। तर यो मात्रै अन्तिम सत्य होइन।
त्रिविमा थेसिस चोरी हुन्छ भने स्नातकोत्तर तहमा थेसिस अनिवार्य नगर्ने कि भन्नेबारे पनि बहस चलेको थियो। तर विद्यार्थीहरुले रिसर्च नै गर्न नपाउने हुन् कि भन्ने ठानेर थेसिस अनिवार्य गर्न सुझाव दिइएको छ।
'गुणस्तरीयता कायम गर्ने हो भने मास्टर्समा थेसिस अनिवार्य गर्नुपर्छ' उनले भने।
थेसिस गर्ने विद्यार्थी धेरै तर विज्ञ स्रोत शिक्षक (गाइड) कम हुँदा गुणस्तरीय थेसिस तयार हुन नसकेको अध्ययनबाट पत्ता लागेको उनले बताए।
'शिक्षकलाई भार बढी भएर थेसिस अनियमितता भएको हो भने भार घटाउनुपर्छ। एउटा शिक्षकलाई ९/१० विद्यार्थी लिन सकिन्छ भन्ने सुझाव हाम्रो छ' उनले भने।
विद्यार्थीले शिक्षक रोज्ने चलनले पनि गुणस्तरीयहीन थेसिस बन्ने समितिको निष्कर्ष छ।
विद्यार्थीले विषय विज्ञ हेर्नुभन्दा पनि आफूलाई सजिलो हुने शिक्षक थेसिस लेखनीमा सहयोगीका रूपमा लिने गर्छन्।
राम्ररी थेसिस लेख्न कसले के के गर्नु पर्छ त?
संयोजक सुवेदीका अनुसार प्रपोजलदेखि नै विद्यार्थीको कडा निगरानी गर्नुपर्छ। उसले संकलन गरेका तथ्याङ्क शिक्षकमाझ प्रस्तुत गर्ने, सामग्री विद्यार्थीले ल्याउने, सुपरभाइजर बेलैमा छनौट गर्ने गर्नुपर्छ।
यस्तै अहिलेसम्मका थेसिस हेर्न मिल्ने सफट्वेर प्रयोगमा ल्याउनुपर्ने, विद्यार्थीलाई पनि इन्टरनेटको सुविधा दिनुपर्ने, अहिलेसम्मका थेसिस डिजिटलाइज गरेर कम्प्युटरमा राख्नुपर्नेजस्ता सुझाव प्रतिवेदनमा समेटिएका छन्। एमफिल र पिएचडीका लागि सुपरभाइजरलाई सर्वोपरी नबनाउन भनिएको छ। 'विद्यार्थीसँगै सुपरभाइजरलाई पनि साथमा लगाइदिनुस्। उसले फिल्डमै गएर सिकाओस् यसले अलि जवाफदेही हुन्छ' उनले भने।
सुपरभाइजर शिक्षकले भनेका कुरा विद्यार्थीले नमाने अस्वीकृत गर्ने अधिकार दिन पनि प्रतिवेदनमा सुझाएको छ।
समिति सदस्य गिरिराज त्रिपाठीले थेसिस लेखनीमा व्यवस्थापकीय पक्षमा पनि सुधार गर्नु पर्ने बताए। प्रतिवेदनमा थेसिस चोरी गर्नेको थेसिस र डिग्री रद्ध गर्न सुझाव पनि दिइएको छ।
'डिग्री नै रद्ध गर्नेसम्मको सुझाव प्रमुखताका साथमा उल्लेख त गरिएको छैन। रद्ध गरियो भने धेरै ठूलो असर गर्छ। समाजमा ठूलो असर पर्ला भनेर हामीले चोरी भएको थेसिस खोज्नतिर लागेनौं अब कसरी गुणस्तरीय लेख्न सकिन्छ भन्नेबारे सुझाव दियौं' त्रिपाठीले भने।
सबै पक्ष जिम्मेवार भए थेसिस लेखनीमा सुधार आउने उनले बताए।