साना दलका विद्यार्थी संगठनको शैक्षिक हड्तालले सोमबार देशभरका शिक्षण संस्था ठप्प भएका छन्।
निजी विद्यालयले बढाएको भर्ना र मासिक शुल्क फिर्ता गर्नु पर्नेलगायतका माग राखेर सत्तारूढ संघीय समाजवादी फोरमसहितका पार्टीका विद्यार्थी संगठनले हड्ताल गरेका हुन्।
हड्ताल गर्नेमा नयाँ शक्ति नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत ८ दलका विद्यार्थी संगठन छन्।
हड्तालले देशभरका निजी विद्यालयमा पढाइ ठप्प भएको निजी तथा आवासीय विद्यालयको संगठन (प्याब्सन) का अध्यक्ष विजय सम्वाहाम्फेले बताए।
`विद्यालय पुरै ठप्प भयो। हामीले अस्वभाविक शुल्क लिएको पनि छैन´ उनले भने। शुल्क वृद्धिका विषयमा यसअघि ठूला दलका विद्यार्थी संगठनले पनि आन्दोलन गर्ने चेतावनी दिएका थिए।
शिक्षा मन्त्रालयले ठूला दलका विद्यार्थी संगठनसँग वार्ता गरेको थियो। मूल्य समायोजन गर्ने सहमति भएपछि ठूला विद्यार्थी संगठनले आन्दोलन फिर्ता लिएका थिए। वार्तामा साना दलका विद्यार्थी संगठनलाई भने बोलाइएको थिएन।