प्रधानमन्त्री केपी शर्मा ओलीले विखण्डनकारी र देशद्रोहीलाई सहन नसकिने बताएका छन्।
स्वतन्त्र मधेशका नाममा विखण्डनकारीको चलखेल देखा परेको भन्दै प्रधानमन्त्री ओलीले मधेश भन्ने देश कहाँ थियो? भन्दै प्रश्न गरे।
‘कहाँ थियो मधेश भन्ने देश? वाहियात कुरा गर्ने’ प्रदेश नम्वर ३ को संसदलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'स्वतन्त्र मधेश भन्या के हो? वाहियात कुरा नगरौं।’
देशलाई विकास र सम्वृद्धिको बाटोमा लैजान हतार भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालमा अब हिंसा जरुरी नभएको बताए।
उनले विप्लव नेतृत्वमा रहेको नेकपालाई हिंसाका गतिविधि छाड्न आग्रह गरेका छन्।
‘आफैं बुद्धि बिग्रिएको हो भने सच्याउनू। अर्काको लहैलहैमा लागेको हो भने पनि हिंसा छोड्नु’, उनले भने।
हिंसा र विखण्डकारी चाहने तत्वलाई रोकिछाड्ने पनि उनले बताए।
नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि प्रदेश नम्बर २ मा चलखेल बन्द भएको बताएका थिए।
नेपाल पत्रकार महासंघ चार नम्बर प्रदेशले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै दाहालले दुई नम्बर प्रदेशमा चलखेल गरेर मधेश छुट्छ कि! भन्ने डर समाप्त भएको बताए।
दुई नम्बर प्रदेशलाई बाँकी प्रदेशको स्थितिभन्दा अलग गरेर चलखेल गर्दै केन्द्र सरकारलाई अस्थिर बनाउने प्रयास भएकाले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याएर समाप्त पारेको दाहालले खुलासा गरे।
उनले केन्द्र सरकारकै प्रभावमा प्रदेश दुईमा पनि कम्युनिष्ट सरकार बन्ने बाटोसमेत खुलेको बताए।
हेर्नुहोस् भिडियो