युवासंघ रूपन्देहीका तत्कालीन जिल्ला अध्यक्ष दुर्गा तिवारी र देवदहका काष्ठ व्यवसायी बसन्त पौडेलको हत्यामा संलग्न १२ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा सोमबार मुद्दा दायर गरेको छ।
तिवारी र पौडेलको हत्यामा बुटवलका हरिप्रसाद श्रेष्ठ, सुजु मल्ल, उत्तम आचार्य, रोशन खड्का, देवदहका लेखनाथ न्यौपाने र तुल्सीराम न्यौपाने संलग्न रहेको भन्दै उनीहरु विरूद्ध दुवै घटनाको मुद्दा दायर भएको हो ।
यस्तै पौडेलको हत्यामा संलग्न सुभाष गुरुङ, राम गुरूङ, उमेश तामाङ र विजु थापा विरुद्ध पनि मुद्दा दायर गरिएको जिल्ला न्यायधिवक्ता कोषहरि निरौलाले जानकारी दिए।
तामाङ र थापा अझै फरार छन् । यसअघि तिवारी हत्यामा संलग्न १२ र पौडेल हत्यामा संलग्न ६ जना विरुद्ध मुद्दा दायर भईसकेको न्यायधिवक्ता निरौलाले बताए।
तिवारी र पौडेल हत्यामा संलग्न सबै जनालाई संगठित रुपमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।
हत्यामा संलग्न सबैलाई मुलुकी ऐनको ज्यान सम्बन्धी दफा एक नम्बर र ३ को १ नम्बर लगाई अधिकतम सजाय माग गरिएको जिल्ला न्यायधिवक्ता निरौलाले बताए। यदि अदालतबाट दाबी गरिए अनुसार सजाय भएमा दुई वटा मुद्दामा अभियुक्तहरूलाई कम्तिमा ३० देखि ४० वर्षसम्म सजाय हुनेछ।
तिवारी र पौडेलको हत्याका मुख्य योजनाकार देवदहका मनोज पुन र भैरहवाका सोम आलेको भने प्रहरी इन्काउन्टरमा मृत्यु भईसकेको छ। तिवारीको २०७३ पुस ४ गते र पौडेलको २०७४ पुस २१ गते देवदहमा गोली हानी हत्या गरिएको थियो।