कर्णाली प्रदेश सरकारका मन्त्रीको सम्पत्ती विवरण सार्वजनिक भएको छ। ‘मन्त्रिपरिषद्का सदस्यहरुको आचारसंहिता–२०७४’ बमोजिम मंगलबार मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक गरिएको हो।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पुर्ख्यौली सम्पत्तिमा कालिकोटको पचाल झरना गाउँपालिकामा घर तथा २५ हजार वर्ग मिटर जग्गा रहेको छ । श्रीमति चन्दाकुमारी शाहीको नाममा टिकापुरमा जग्गा छ ।
मुख्यमन्त्रीको चल सम्पत्तिमा ६ तोला सुन, २०० तोला चाँदी छ। यस्तै उनको नाममा रहेको एभरेष्ट बैंकको खातामा २ लाख रुपैयाँ नगद छ भने राष्ट्रिय वाणीज्य वैंकमा भएको खातामा ५ लाख रुपैयाँ छ। धितोपत्र तथा शेयरतर्फ मुख्यमन्त्रीको शाहीको नाममा १ लाख १० हजार रुपैयाँ छ। यस्तै १५ लाख रुपैयाँ बराबरको मारूती कार पनि उनको सम्पत्तिका रुपमा रहेको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको नाममा काठमाडौंमा १५ लाख रुपैयाँ बराबरको ८ सय वर्ग फिट जग्गा रहेको छ। प्रकाश ज्वालाका बुवा बलबहादुर साहुका नाममा रहेको सल्यानको पुख्र्यौली १ हजार ५ सय वर्ग मिटर जग्गा र आमाका नाममा रहेको बर्दियाको १३.६५ वर्गमिटरलगायतका विभिन्न ठाउँको जग्गा पनि उनको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।
विवरण अनुसार उनको चल सम्पत्तिमा नगद १५ लाख, ३ तोला सुन र १० तोला चाँदी छ । वैंक तथा वित्तीय संस्थानमा रहेको उनको खातामा नगद १६ लाख ६० हजार नगद रहेको छ। यस्तै, आफ्नो तथा परिवारका नाममा रहेको शेयरतर्फ ५२ लाख ४५ हजार रुपैयाँ रहेको छ।
सवारी साधनतर्फ एक ट्याक्टर सम्पत्ति विवरणमा उल्लेख छ । कृषितर्फ ज्वालाका दुई वटा भैँसी, २ गोरू र चार वटा वाख्रा छन्। यस्तै, २ थान टेलिभिजन, २ थान ल्यापटप र ६ थान मोवाईल पनि मन्त्री ज्वालाको सम्पत्ति विवरणमा उल्लेख छ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको जुम्लाको देपालगाउँ र बाँकेको गणेशपुरमा १/१ घर, १५ तोला सुन, १० तोला चाँदी, बैंक खाताका १ लाख नगद् १२५ सिसीको मोटरसाईकल र दुई थान मोवाईल सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
सामाजिक विकास मन्त्री दल रावलको सम्पत्ति विवरणमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा र हुम्लाको सिमकोट गाउँपालिकामा एक/एकवटा घर, सुर्खेत र हुम्लामा गरि ७५ लाख बराबरको जग्गा रहेको छ। रावलको चल सम्पत्तिमा २५ तोला सुन र १५० तोला चाँदी विवरणमा उल्लेख गरिएको छ। आफू र श्रीमतिको नामको विभिन्न बैंक खातामा गरि २७ लाख १८ हजार नगद रहेको छ । कृषितर्फ भैँसी ३, गाई तथा गोरु ११ र भेडा/बाख्रा ४५ वटा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीका नाममा रुकुमको सिम्लीमा घर, रुकुम, दाङ र सुर्खेतमा जग्गा तथा पिपुल्स ईनर्जी लिमिटेड १५ लाख बराबरको शेयर रहेको सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाको सम्पत्तिका रुपमा डोल्पामा दुई घर, डोल्पाका दुई ठाउँमा जग्गा, १५ तोला सुन, १ किलो चाँदी रहेको छ । कृषितर्फ गाई, घोडा, भेडा र बाख्रा गरि २५ वटा रहेको उल्लेख छ ।
भौतिक तथा पूर्वाधार विकास मन्त्री खड्क खत्रीको सम्पत्तिका रुपमा सुर्खेत, कैलाली, वाँके, काठमाण्डौँ र भक्तपुरका विभिन्न क्षेत्र गरि १२ ठाउँमा जग्गा, २१ तोला सुन, ४८ लाख वैंक तथा वित्तीय संस्थानमा मौज्दात रकम रहेको छ । यसैगरी, धितोपत्र तथा शेयरतर्फ २१ करोड ४४ लाख २४ हजार रुपैयाँ मन्त्री खत्रीको सम्पत्ति विवरणमा उल्लेख छ।
यस्तै, सवारी साधन तथा अटोमोवाईलतर्फ ३ वटा जीप, ३ वटा मोटरसाईकल, ५ स्काभेटर, ८ ट्रिपर, १ ट्रक, ३ भ्याकुलोडर उनको निर्माण कम्पनीको नाममा छन् भने श्रीमति पुष्पा खत्रीका नाममा एउटा मोटरसाईकल रहेको विवरणमा उल्लेख छ ।