काठमाडौंका जनप्रतिनिधिहरूले झन्झटिलो प्रक्रियाका कारण पुनर्निर्माणले गति लिन नसकेको बताएका छन्।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनीहरूले झन्झटिलो प्रक्रियाले गर्दा पहिलो किस्ता लिने लाभग्राहीको संख्या करिब ४० हजार पुगे पनि ५ हजारले मात्र घर बनाएको बताए।
दक्षिणकाली नगरपालिका प्रमुख मोहन बस्नेतले झन्झटिलो प्रक्रियाले आफ्नो नगरपालिकामा पुनर्निर्माण ढिला भइरहेको बताएका छन्।
‘हाम्रो नगरपालिकामा आफ्नै जग्गा नहुने, आर्थिक अवस्था कमजोर हुनेले घर बनाउन सकेका छैनन्,’ उनले भने, ‘उनीहरूले सहज रूपमा रकम पाउने व्यवस्था गर्नका लागि थप नीति लिइएन भने पुनर्निर्माणले गति लिन सक्दैन।’
कागेश्वरी मनहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले निजी आवास पुनर्निर्माणमा समस्या भएकाले प्राधिकरणले स्थानीय तहलाई नै सबै अधिकार दिनुपर्ने बताए।
‘स्थानीयमा के समस्या छ भन्ने कुरा स्थानीय तहलाई जानकारी हुन्छ। त्यसैले प्राधिरकणले पुलको काम गरेर सबै अधिकार स्थानीय तहलाई दिनुपर्छ,’ प्रमुख थापाले भने।
उनीहरूले निजी आवास पुनर्निर्माणलाई गति दिनका लागि झन्झटिलो प्रक्रियालाई सहज बनाउनका पहल थालिएमा धेरैलाई समेट्न सकिने बताएका छन्।
काठमाडौं जिल्लाभित्र ४५ हजार ८ सय लाभग्राहीमध्ये ३९ हजार ९ सय जनाले पहिलो किस्ता लिएका छन् भने ५४ सय लाभग्राहीले मात्र घर निर्माण गरेका छन्।